काठमाडाैँ । वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ दलका केही नेता तथा सांसदहरूले संसद्मा सरकारको कामकारबाहीप्रति प्रश्न उठाउँदै खेलेको दोहोरो भूमिकामाथि प्रश्न उठाएका छन्।
डा. आचार्यले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै सत्तारुढ दलका नेता तथा सांसदहरूले सरकारका कामकारबाहीबारे प्रश्न गर्न थाल्नु सकारात्मक भए पनि उनीहरू आफैंप्रति उठ्ने प्रश्न अझ गम्भीर रहेको बताएका छन्।
उनले आफैंले गठन गरेको सरकार संसद्, संविधान, राजनीतिक दल र जनताप्रति जवाफदेही नभएको महसुस हुन थालेको हो भने त्यसलाई परिवर्तन गर्ने शक्ति पनि सत्तारुढ सांसदहरूसँगै रहेको उल्लेख गरेका छन्।
“आफैले जन्माएको सरकारलाई संसद्, संविधान, दल, जनता कसैप्रति पनि जवाफदेही नभएको देख्न थाल्नु भएको हो र यसका कामकारबाहीमा साँच्चै असन्तुष्ट हुनु भएको हो भने यसलाई बदल्ने तागत् त तपाईंसँगै छ,” उनले प्रश्न गरेका छन्।
सत्तापक्षमै रहेर सरकारको आलोचना गर्ने र अर्कोतर्फ सरकार परिवर्तन गर्न आवश्यक राजनीतिक कदम नचाल्ने प्रवृत्तिमाथि उनले प्रश्न उठाएका छन्। उनले सत्तापक्ष र प्रतिपक्ष दुवैको भूमिका एकैपटक निर्वाह गर्ने प्रयासले राजनीतिक प्रणाली र लोकतान्त्रिक मूल्य–मान्यतालाई थप कमजोर बनाउने चेतावनीसमेत दिएका छन्।
“सत्ता पक्ष र प्रतिपक्ष दुबै आफै हुने तमासा किन देखाउनुहुन्छ ? यस्तो कार्यले हाम्रा पद्धति र मूल्यलाई झनै कमजोर बनाउँछ,” आचार्यले भनेका छन्।
वि.सं.२०८३ साउन २३ शनिवार १२:१२ मा प्रकाशित






























