काठमाडौं । तराई मधेश केन्द्रीत नेताहरुमा पार्टी विभाजन गर्ने र पुरानै दललाई ब्यूँताउने लहर चल्न थलेको छ । जसपा र लोसपाभित्रको आन्तरिक विवाद उत्कर्ष पुगिरहेका बेला पुरानै दललाई ब्यूँताउने क्रम बढेको हो ।
विशेषतः लोसपाभित्र विवाद बढिरहेका बेला निर्वाचन आयोगमा पुरानै नामका दुई दल दर्ता भएका हुन् । लोसपाको विवाद चरमतामा पुगेको बेला लोसपाभित्रकै नेताहरुले तमलोपा र राजपा नेपाल गरी दुई दल दर्ता गरेका छन् ।
लोसपामा आवद्ध रविशंकर कर्णको नेतृत्वमा तराई मधेस लोकतान्त्रिक पार्टी आयोगमा दर्ता भएको छ । गत ८ मंसिरमा दर्ता भएको सो पार्टीको केन्द्रीय कार्यालय जनकपुरमा राखिएको छ भने आयोगले सो पार्टीलाई ‘लोककला कोरिएको गाग्रोमा आँपको कलश र त्यसमाथि नरिवल’ चुनाव चिन्ह प्राप्त गरेको छ ।
यस्तै लोसपा अध्यक्ष ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्र यादव, अनिलकुमार झा र राजकिशोर यादवसहित ६ सदस्यीय अध्यक्ष मण्डलबाट नेतृत्व रहेको राष्ट्रिय जनता पार्टी (राजपा)लाई पुनः ब्युत्याउँदै निर्वाचन आयोगमा दर्ता गरिएको छ । उपेन्द्र यादव नेतृत्वको पार्टीसँग एकीकरण भएपछि विघटनमा पुगेको राजपा नेपाललाई हरिनारायण यादवले आयोगमा दर्ता गराएका हुन् ।
तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको चुनाव चिन्ह ‘दायाँ हातले समातेको मशाल’ लाई प्रयोग गर्दै यादवले पुरानो पार्टीलाई आफ्नो नेतृत्वमा दर्ता गराएका हुन् । उनले केन्द्रीय कार्यालय भने काठमाडौं तोकेका छन् ।
बहुदलीय व्यवस्था र गणतन्त्र स्थापना अघि तराई मधेस केन्द्रित एक मात्र राजनीतिक दल ‘सदभावना पार्टी’लाई पनि बिभिन्न नाममा राखेर निर्वाचन आयोगमा दर्ता भएको छ । गजेन्द्रनारायण सिंहले स्थापना गरेको ‘सद्भावना’ नाम जोडेर विश्वनाथ साह र राजकुमार महतोले अलगअलग नाममा राजनीतिक दल दर्ता गराएका छन् ।
वि.सं.२०७८ पुस २९ बिहीवार १६:१९ मा प्रकाशित



























