काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकिकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले मकर संक्रान्ति र माघी पर्वको शुभकामना व्यक्त गरेका छन् ।
नेता खनालले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक रहेको र यहाँ विभिन्न समुदायका जनताले आफ्ना मौलिक चाड पर्वहरू र संस्कृतिलाई संरक्षण गर्नको लागि आफ्नै रिति र परम्परा अनुसार मनाउँदै आएको बताएका छन् ।
‘मकर संक्रान्ति तथा माघी पर्वपनि बिभिन्न जातजातिका समुदायले परम्परागत रुपमा मनाउँदै आएको एउटा महत्वपूर्ण पर्व हो । माघे संक्रान्ति हिमाल, पहाड र तराईका जनताको एउटा साझा पर्व हो,’ नेता खानलद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘यो पर्व उधौली र उभौलीको सीमा पनि हो । यहि बिन्दुबाट किरात संवत् पनि फेरिन्छ ।’
यस्ता चाडपर्वले हाम्रा परम्परागत मौलिक संस्कृतिहरुको जगेर्ना गर्नेछ र एकआपसमा पारस्पारिक सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई अझ बलियो हुनेगरी स्थापित गर्ने विश्वास नेता खनालले व्यक्त गरेका छन् ।
‘अहिले देशभर कोरोना भाइरसको नयाँ भेरिएन्ट महामारीको रुपमा बढ्दो रुपले फैलिइरहेको छ । यो महामारीबाट सुरक्षित रहनको लागि सरकारले लागू गरेका स्वास्थ्य सम्बन्धी नियमको पालना गर्दै आ–आफ्नै घरमा बसी यो पर्व मनाउन सम्पूर्णमा म आग्रह पनि गर्दछु ।’ नेता खनालले भनेका छन् ।
वि.सं.२०७८ माघ १ शनिवार ०९:५२ मा प्रकाशित






























