प्रभाकर र भास्कर दाजुभाइ, कथाकारको सँधियारे हुन् । जेठो प्रभाकर र कान्छो भाष्करले बिहे भएको २÷४ बर्षपछि छुट्टीभिन्न हुने सुर कसे । ‘म पाल्छु, बाआमालाई !’ भास्करले बाआमा पाल्ने पहिलो दाबी गरे,
प्रभाकरले पनि बाआमा पाल्ने तीब्र इच्छा राख्यो । आँखिर, बाआमाले कान्छो छोराकै घरमा बस्ने निधो गरे ।
‘जोसँग बसेपनि बाआमा खुसी भए, भैगो ।’ भन्दै प्रभाकरले चित्त बुझायो ।
प्रभाकर र भास्करका छोराछोरीहरू हुर्केर पनि विदेश उडिसकेका थिए । उमेरले ८० कटिसकेका, बुढाबुढी । दम, उच्च–रक्तचाप, मधुमेह, अनिन्द्रा… अनेक रोगहरूले गालिसकेका थिए ।
बाआमा पटकपटक बिरामी पर्दा भने धेरैजसो प्रभाकर दम्पतीले नै अस्पताल लाने, ल्याउने र स्याहार्ने गर्थे ।
भास्करको घरमा, सँधाझैँ, एकदिन खाना पकाउँदा भान्सामै लडेर आमाको दाहिने खुट्टा भाँच्चियो । अस्पताल लाने मान्छे नभएर, जेठीबुहारीले लगिन् । खुट्टा प्लास्टर गरेर फर्केपछि आमाले, ‘जेठोकै घरमा बस्छु ।’ भनिन् । प्रभाकर दम्पत्तिले आमालाई घरमा लगे र स्याहार गरे । जब आमाको खुट्टा ठीक भयो, कान्छी बुहारी लिन पुगिन् र भनिन्, ‘आमा यतातिर बसिदिँदा उता खाना बनाउने मान्छे नै भएन ।’
देउरानीको कुरा सुनेर जेठानीले रिसाउँदै भनिन्, ‘हस्पिटल लान र स्याहार गर्न चासो नदेखाउने, निको भएपछि तिम्रो घरमा खाना पकाउने मान्छे नहुने ? यही हो, बाआमा पाल्ने तरिका ?’
आमालाई कान्छी बुहारीले तानेरै लगिन् ।
एकरात बा पिसाब फेर्न उठ्दा कान्छो छोराबुहारी खासखुस कुरा गरेको सुने । बुहारी भन्दै थिइन्, ‘सुन्नुुस् त ! छोराबुहारीले उता अष्ट्रेलियातिर आउनू’ भनेर मरिहत्ते गरेकाछन् । बुढाबुढीलाई जेठाजुको घरमा पठाइदिउँ ! अस्पताल कुदाउने र खर्चैखर्च मात्र गर्ने उमेर हो, यो त ! उनीहरूले पनि पाल्न रहर गरेकाछन्, रहरेको खहरे पुगोस् न !’
एकदिन भास्करले दाइसँग भन्यो, ‘बाआमा लैजानुस् , दाइ । हामीले २० बर्ष पाल्यौँ, अब तपाईं पाल्नुस् । बाआमाको जिउनी आधाआधा बाँडेर लिउँला !’
भाइको कुरा सुनेर प्रभाकरले नमीठो मान्दै भन्यो, ‘बाआमाको हातगोडा चलुन्जेल, काम खाइस्, जीउनी पनि तैँ खा, कान्छा ! बाआमा देखिने ईश्वर हुन् । जिउनीको आशमा पाल्ने हो र ! बाआमाको सेवा गर्नु, सन्तानको असली धर्म हो । मैले लगेँ, बाआमा !’
घनश्याम डल्लाकोटी ’कृष्णजी शर्मा’
राप्ती–८, पूर्वि चितवन
वि.सं.२०७८ माघ १ शनिवार ०८:४१ मा प्रकाशित






























