पैसा फल्ने जङ्गलमा
फाटेको सुट्केसमा
सपनाका गठरीहरू बाँधेर
मेरा
कलिला सन्तानहरू
चटक्कै छोडेर
विदेश भासिएकी म ।
बर्षौ बितिसकेछ
कपाल सेतै फुलीसक्यो
अनुहारमा
सयौं चाउरी परेकाछन्
आफन्तहरुले
भुलिसके होलान् ।
पर्ख है आमा
म अब तयारीमा छु
पर्ख छोरी
अब म
आउँने तयारीमा छु
तिमीहरूको न्यानो स्पर्शको
स्वप्लिन अनुभूतिको पर्खाईमा छु
मलाई जन्मभूमिको माटोले
बोलाइरहेको छ, खोजिरहेको छ ।
मेरा कलिला सन्तानहरू
जवान भै सके
आमा आउने बाटो हेरेर
हरेक साँझबिहान
कुरी रहेका होलान् ।
बूढीआमा ओछ्यान परिछन्
सोध्छिन् अरे ओछ्यानबाटै
कहिले आउछे रे छोरी
फोन गरेकी छैन
मलाई सोधेकी छैन ?
तर म
पैसा फल्ने अजंगका
रूखहरू खोज्दा–खोज्दै
थाकी सकेकी छु
जङ्गलको कोलाहलमा
हराइसकेकी छु ।
पर्ख है आमा
म अब तयारीमा छु
पर्ख छोरी
अब म
आउँने तयारीमा छु
तिमीहरूको न्यानो स्पर्शको
स्वप्लिन अनुभूतिको पर्खाईमा छु
मलाई जन्मभूमिको माटोले
बोलाइरहेको छ, खोजिरहेको छ ।
वसन्ता न्यौपाने हालः अमेरिका, नियुङ्टन
वि.सं.२०७८ माघ १ शनिवार ०८:४० मा प्रकाशित






























