काठमाडौं । नेपालमा आज ४,९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एन्टिजेन र पिसीआर विधिबाट गरिएको १५ हजार १३१ नमु्ना परीक्षणमा ४,९६१ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार आज उपत्यकाको काठमाडौंमा २,५४५, भक्तपुरमा ३२८ र ललितपुरमा ४७४ जनासँगै ३,३४७ जनामा संक्रमण पुष्टि भएको हो । शनिवारको तुलनामा उपत्यकामा संक्रमित हुनेको संख्या १५ सयले बढी हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका ४,९६१ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ५३ हजार ९४६ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४३५ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख १६ हजार ४३८ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ३ जनासँगै नेपालमा हालसम्म ११ हजार ६२० जनाको कोरोनाबाट मृत्यु भएको छ ।
मन्त्रालयको विवरण अनुसार हाल २५ हजार ६८० जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २४ हजार ५८४ जना र १०९६ जना संस्थागत आइसोलेशनमा रहेका छन् । ती मध्ये १२२ जना आइसीयु र २९ जना भेन्टिलेटरमा उपचाररत छन् ।
वि.सं.२०७८ माघ २ आइतवार १६:४७ मा प्रकाशित






























