काठमाडौ । नेपाल टेलिकमले आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै विन्टर अफर सञ्चालनमा ल्याएको छ ।
माघ ३ देखि लागू हुने गरी कम्पनीले ‘विन्टर अफर २०७८’ उपलब्ध गराउने भएको हो । कम्पनीले यसअघि सञ्चालमा ल्याएको अटम अफरलाई परिमार्जन गर्दै थप आकर्षक योजनाका साथ विन्टर अफर उपलब्ध गराउन लागेको हो । यस अन्तर्गत कम्पनीले यसअघि उपलब्ध गराउँदै आएको ‘सजिलो अनलिमिटेड प्रिपेड डेटा अफर’ मा थप प्याकेज समेत उपलब्ध गराउने भएको छ ।
हालसम्म सजिलो अनलिमिटेड प्रिपेड डेटा अफरमा २८ दिनका लागि ५९९ रुपैययाँको ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध रहेको छ । तर, अब भने ‘सजिलो अनलिमिटेड प्रिपेड ७९९’, ‘सजिलो अनलिमिटेड प्रिपेड ९९९’ र ‘सजिलो अनलिमिटेड प्रिपेड १४९९’ प्याक समेत उपलब्ध हुने भएको छ । यसमा ग्राहकलाई अनलिमिटेड भ्वाइस कल र निश्चित डेटा (प्रतिदिन क्रमशः १ जीबी, २ जीबी र ४ जीबी) लगायतका सेवा उपलब्ध हुने टेलिकमले जनाएको छ ।
टेलिकमका अनुसार सो प्याक अन्तर्गत डेटा प्याक सकिए पनि अतिरिक्त शुल्क बिना नै इन्टरनेट चलाउन सकिने सुविधा उपलब्ध रहेका छन् । त्यस्तै कम्पनीले सस्तो प्रिपेड कम्बो प्याकमा थप सुविधा उपलब्ध गराउने भएको छ । यस अन्तर्गत २९९ रुपैयाँमा २८ दिनसम्म चलाउन मिल्ने गरी १५० मिनेट अन–नेट भ्वाइस कलका साथै २० वटा एसएमएस पठाउन र २ जीबी डेटासमेत उपलब्ध हुनेछ । यसैगरी, नेपाल टेलिकमको भ्वाइस ओभर एलटीई (भीओएलटीई) सेवा प्रयोगकर्ताका लागि उपलब्ध भइरहेको विभिन्न अफर निरन्तर रहने जनाएको छ । पहिलो पटक यो सेवा एक्टिभ गर्ने ग्राहकले २८ दिनसम्म प्रयोग गर्न सक्नेगरी निःशुल्क १०० मिनेट अन–नेट कलको सुविधा पाउने छन् ।
साथै फोरजी होम ब्रोडब्यान्ड लिने ग्राहकका लागि मासिक र वार्षिक रुपमा लिन सकिने बेसिक र प्रिमियम प्याकेज उपलब्ध गराइने कम्पनीले जनाएको छ । यी बाहेक कम्पनीले पहिलेदेखि नै उपलब्ध अधिकांश अफरलाई निरन्तरता दिएको छ ।
टेलिकमले उपलब्ध गराएको विभिन्न अफर लिनका लागि स्टार १४१५ ह्यास डायल गरी लिन सकिने छ । साथै कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यसबारे जानकारी लिन र प्याक खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।
वि.सं.२०७८ माघ ३ सोमवार ०९:१४ मा प्रकाशित





























