काठमाडौं । सरकारले सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य देखाउनुपर्ने नियम बनाएको छ । शुक्रबारदेखि सार्वजनिक स्थलमा प्रवेश गर्न र सेवा लिनका लागि खोप कार्ड देखाउनुपर्ने नियमलाई लागु गरेको हो ।
राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना तथा सञ्चार केन्द्रका अनुसार अब कार्यालय, होटल, फिल्म हल, रंगशाला, हवाईयात्रा गर्दा कोरोनविरुद्धको खोप लगाएको कार्ड वा फोटो अनिवार्य रुपमा देखाएर मात्रै प्रवेश गर्न पाइने छ । सरकारले खोप कार्ड अनिवार्य गरेसँगै केही मानिसको खोप लगाएको कार्ड हराएकोले नयाँ प्रतिलिपि बनाउनुपर्ने हुन्छ ।
साथै बुस्टर डोज लगाउन पनि यसअघिको खोप कार्ड अनिवार्य देखाउनु पर्नेछ ।
तर, यसबीचमा खोप कार्ड हराएर वा बिग्रिएका कारण केही समस्यामा परेका छन् । सरकारले ती समस्याका परेका लागि कार्डको प्रतिलिपि दिने व्यवस्था गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिन्छ ।
दोस्रो जोन्सन एण्ड जोन्सन खोप लगाएको भए सोही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिन्छ।
तेस्रो पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिन्छ ।

वि.सं.२०७८ माघ ७ शुक्रवार १४:०४ मा प्रकाशित






























