काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै १ दर्जन भन्दा बढी बैंकहरु कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छन् । निक्षेपको तुलनामा कर्जाको माग बढी भएपछि बैंकहरुमा कर्जा प्रवाहमा समस्या देखिन थालेको हो । जसकारण केही बैंकहरु प्राथमिकता प्राप्त क्षेत्रमा समेत कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) हटाएर कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेको थियो । जसको प्रत्यक्ष प्रवाभ सम्पुर्ण बैंकिङ प्राणालीमा देखिएको छ । बैंकहरुले पुरानो सीसीडी हुँदा त्यसमा गणना गर्ने गरेको अन्दाजी ४ खर्ब रुपैयाँ नयाँ प्रावधान सीडीमा गणना गर्न मिल्दैन । जसको असर प्रणालीमा देखिन पुगेको हो । मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले २०७९ असार मसान्तसम्मको लागि सीडी रेसियो ९० प्रतिशत राखेको छ ।
पुस मसान्तसम्म बैंकहरुको औसत सीडी रेसियो ९० दशमलब २४ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले कायम गरेको सीडी रेसियो अनुसार बैंकहरुले १ सय रुपैयाँ निक्षेप संकलन गर्दा ९० रुपैयाँ मात्रै कर्जा प्रवाह गर्न पाउँछन् ।
१३ वटा बाणिज्य बैंक कर्जा लगानी गर्न नसक्ने अवस्थामा
चालु आवको दोस्रो त्रैमासिक अवधिसम्म आइपुग्दा १३ वटा बैंक सिडी रेसियोको कारण कर्जा लगानी गर्न नसक्ने अवस्थामा आइपुगेका हुन् ।
अहिलेसम्म सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको सीडी रेसियो ९५ दशमलब ६९ प्रतिशत र कुमारी बैंकको ९५ दशमलब ५५ प्रतिशत पुुगेको देखिएको छ ।
तथ्याङक अनुसार कृषि विकास बैंकको ९४ दशमलब ५२ प्रतिशत, बैंक अफ काठमाण्डूको ९१ दशमलब ७६, सेञ्चुरी बैंक ९० दशमलब ७८, सिभिल बैंक ९० दशमलब ७२, ग्लोबल आइएमई बैंक ९० दशमलब ७३, हिमालयन बैंक ९१ दशमलब ५४, माछापुुच्छे« बैंक ९० दशमलब १८, मेगा बैंक ९३ दशमलब १४, एनसीसी बैंक ९२ दशमलब ९१, नेपाल एसबीआई बैंक ९५ दशमलब ०६, प्राइम बैंक ९४ दशमलब ८३ प्रतिशत रहेको देखिएको छ । राष्ट्र बैंकले कायम गरेको सिडी रेसियोको मान्यताका आधारमा हेर्दा माथि उल्लेखित बैंकहरुले थप कर्जा प्रवाह गर्न सक्दैनन् ।
१४ वटा बैंकको सिडी रेसीयो भने ९० प्रतिशत भन्दा कम
१४ वटा वाणिज्य बैंकहरुको सीडी रेसियो भने नेपाल राष्ट्र बैंकले तोकेको ९० प्रतिशत भन्दा कम रहेको देखिएको छ ।
जसमा, सिटिजन्स बैंकको ८९ दशमलब ७० प्रतिशत, एभरेष्ट बैंकको ८९ दशमलब ९९, लक्ष्मी बैंकको ८८ दशमलब ८७ प्रतिशत, नबिल बैंकको ८९ दशमलब ३५ प्रतिशत सिडी रेसियो रहेको देखिएको छ ।
त्यस्तै नेपाल बंगलादेश बैंकको ८८ दशमलब १९ प्रतिशत, नेपाल बैंक ८९ दशमलब ६२ प्रतिशत, एनआईसी एसिया बैंकको ८८ दशमलब ८९ प्रतिशत, एनएमबी बैंकको ८८ दशमलब ८८ प्रतिशत, प्रभु बैंकको ८१ दशमलब ९० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ८३ दशमलब ४९ प्रतिशत, सानिमा बैंकको ८६ दशमलब ९२ प्रतिशत, सिद्धार्थ बैंकको ८८ दशमलब ८१ प्रतिशत, स्टान्डर्ड चार्टर्ड बैंकको ८७ दशमलब ९२ प्रतिशत र सनराइज बैंकको ८९ दशमलब ५७ प्रतिशत रहेको छ ।
वि.सं.२०७८ माघ ९ आइतवार २१:१४ मा प्रकाशित






























