फुङ्लिङ । ताप्लेजुङमा पछिल्लो केही साता दिनहुँजसो हिमपात भइरहेको छ । माघ महिनाको दोस्रो सातायता प्रायः धुम्मिँदो मौसम रहेको छ भने जिल्लाको उच्च हिमाली क्षेत्रमा निरन्तर हिमपात हुँदै आएको छ ।
निरन्तरको हिमपातले हिमाली क्षेत्रको जनजीवन भने कष्टकर बन्दै गएको छ । निरन्तर हिमपात भइरहने र घाम नलाग्ने भएकाले यहाँको जनजीवन कष्टकर बन्दै गएको हो । हिमपात हुने क्रम अहिले पनि जारी छ । शुक्रबार बिहानैदेखि हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।
स्थानीयवासीका अनुसार उच्च डाँडामा भारी हिमपात भइरहेको छ । हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका-७ ओलाङ्चुङ्गोला, याङ्मा, फक्ताङ्लुङकै वडा नं ६स्थित लेलेपको घुन्सा, फले, ग्याब्लालगायत स्थानमा हिमपात भइरहेको छ । घुन्साका कासाङ शेर्पाले लामो समयदेखि हिमपात जारी रहँदा जनजीवन कष्टकर हुन थालेको बताए ।
गत पुस अन्तिम साता घुन्सालगायत हिमाली बस्ती तथा उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ परेको र त्यसबेला परेको हिउँ नै अहिलेसम्म पग्लिन नपाएको उनको भनाइ थियो । लामो समयदेखि मौसममा सुधार नआएको र हिउँ पर्नेक्रम जारी रहेकाले सुरुमा परेको हिउँ अहिलेसम्म जमिरहेको छ । दिनहुँजसो सामान्य हिउँ परिरहेकाले घुन्सासहित फले, याङ्मा ओलाङचुङ्गोला, तोक्पेगोला, पाथीभरा फेदीबजारलगायत बस्तीमा सुरुदेखि परेको हिउँ नै अझै जमिरहेको छ ।
यसरी निरन्तर हिमपातको क्रमसँगै शुक्रबार बिहानदेखि झन बाक्लो हिउँ परिरहेको छ । स्थानीयवासिन्दाका अनुसार मिक्वाखोला गाउँपालिका-५ पापुङको तोक्पेगोला, सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन, मामाङ्खे, खेबाङ, सिदिङ्वा गाउँपालिकाको कालीखोला, सुरुम्खिम, मैवाखोला गाउँपालिकाको साँघु, फाकुम्बालगायत गाउँको उच्च भेगतिर हिमपात भएको छ ।
यता तीन हजार ७९४ मिटर उचाइ भएको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पनि हिउँ परिरहेको फेदी बजारका राजेन्द्र महतले जानकारी दिए । पाथीभरा धाम, फेदीबजार र तल्लो फेदी काफ्लेपाटी क्षेत्रसम्म हिमपात भएको उनको भनाइ थियो ।
जिल्लाको हिमाली क्षेत्रमा हिमपातका क्रम जारी रहेसँगै धेरै दिनदेखि मौसम धुम्मिँदा चिसोले दैनिक जीवन यापनमा असर परेको बताइएको छ । चिसोले बालबालिका, वृद्धवृद्धा र पशुचौपायामा बढी समस्या परेको छ । यता चिसोका कारण अहिले धेरैजनालाई रुघाखोकीले सताउन थालेको पाइएको छ ।
रासस
वि.सं.२०७८ माघ २२ शनिवार १३:४८ मा प्रकाशित






























