काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी सम्झौतालाई टार्नको निम्ति निकै भूमिका खेले । उनले गठबन्धनलाई जोगाउने तर, एमसीसीलाई टारिरहने रणनीति अख्तियार गरिरहेका थिए । तर, एमसीसीलाई टारिरहने उनको प्रयास भने अन्ततः असफल देखिएको छ ।
प्रचण्ड र देउवाले गत सेप्टेम्बर २९ मा एमसीसी मुख्यालयलाई पत्र लेख्दै एमसीसी अनुमोदन गर्न सकारात्मक रहेको तर, केही समय पर्खन आग्रह गरेका थिए । तर, नेपाल पक्षको पत्रको जवाफ फर्काउँदै एमसीसी मुख्यालयले डेडलाइन नै तोकेपछि भने टार्ने प्रयास असफल देखिएको हो ।
एमसीसी पारित गर्न एमसीसी मुख्यालयले डेडलाइन नै तोकेर फेबु्रअरी ३ मा नेपाललाई पत्र पठाएको थियो । सरकारलाई पठाएको पत्रअनुसार एमसीसी मुख्यालयले आगामी सेप्टेम्बर २९ सम्म एमसीसी अनुमोदन गर्न भनेको छ ।
प्रचण्डले पत्र सार्वजनिक गर्न चाहेका थिएनन्
एमसीसीलाई टार्ने योजनाअनुसार प्रचण्डले एमसीसी मुख्यालयलाई पत्र पठाएका थिए । प्रचण्डको योजना कुटनीतिक रुपमा एमसीसीलाई टार्ने थियो । तर, एमसीसीले जवाफी पत्र पठाउनु र उक्त पत्र सार्वजनिक हुनुले प्रचण्डको योजना असफल देखिएको छ ।
प्रचण्डनिकट स्रोतले बताएअनुसार एमसीसी मुख्यालयले पठाएको पत्र सार्वजनिक भएको प्रति प्रचण्डले आपत्ति नै जनाएका छन् । देउवालाई टेलिफोन गर्दै प्रचण्डले सहमति उल्लंघन भएको बताएका हुन् । प्रचण्डनिकट स्रोतले बताएअनुसार एमसीसीको विषयमा तत्काल प्रवेश गर्ने योजना प्रचण्डको थिएन ।
प्रचण्डले एमसीसीको विषयमा अध्ययन गर्न बनाइएको कार्यदलले दिएको सुझाबअनुसार अगाडि बढ्नुपर्ने माग राखिरहेका थिए । तीन सदस्यीय कार्यदलको विषयमा प्रश्न उठिरहेको बेला प्रचण्डले ५ सदस्यीय कार्यदल बनाउने प्रस्तावसमेत अगाडि सारेका थिए । तर, उक्त प्रस्तावप्रति सहमति बन्न सकेको थिएन ।
भाषा र व्यवहारमा भेद बन्याे
प्रचण्डले गत पुस दोस्रो साता भएको माओवादी केन्द्रको आठौं महाधिवेशनमा एमसीसी संशोधन गरेर मात्रै संसदबाट अनुमोदन गराउन सक्ने निर्णय गराएका थिए । त्यसयता सार्वजनिक रुपमा पनि अभिव्यक्ति दिँदा एमसीसी संशोधनबिना अनुमोदन हुनै नसक्दै बताइरहेका थिए ।
तर, प्रचण्ड र देउवाले लेखेको पत्रबाट भने उनको भाषा र व्यवहारमा भेद देखिएको छ । प्रचण्डले कुटनीतिक रुपमा जेजस्तो व्यवहार अपनाउन खोजेको भएपनि उनी यो योजनामा असफल नै देखिएका छन् । सम्झौता पारित गर्ने वातावरण बनाउन समय माग गर्दै पत्र पठाएपछि त्यसको आशयले भने व्यवहार फरक देखिएको हो ।
सम्बन्धित समाचार
एमसीसी मुख्यालयले फर्कायो जवाफ : सम्झौता पारित गर्न फेब्रुअरीसम्मको डेडलाइन (पत्रसहित)
वि.सं.२०७८ माघ २३ आइतवार १५:४१ मा प्रकाशित
























