काठमाडौं । सरकारी स्वामित्वको दूग्ध विकास संस्थान (डिडिसी)ले बढाएको दूधको मूल्यलाई स्वीकार गर्न नसकिने भन्दै निजी क्षेत्रका दुध बिक्री गर्ने उद्योगी (डेरी)हरुले बेग्लै दूधको मूल्य तोकेका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै उनीहरुले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँका दरले बढाउने घोषणा गरेका हुन् ।
निजी डेरी उद्योगीले दूधको मूल्य ८६ रुपैयाँ प्रतिलिटर पुर्याएको घोषणा गरेका छन् । सरकारी स्वमित्वको डीडीसीले वृद्धि गरेको दूधको मूल्य स्वीकार्न नसकेर नयाँ मूल्य घोषणा गरेको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले बताए ।
यसअघि प्रशोधित दूधको मूल्य प्रतिलिटर बजार मूल्य ७६ रुपैयाँ थियो भने ५०० एमएलको एक प्याकेटको मूल्य ३८ रुपैयाँ थियो । पछिल्लो निर्णयसँगै पाँच सय एमएलको एक प्याकेटको खुद्रा बिक्री मूल्य नै ४३ रुपैयाँ पुगेको छ ।
१७ माघमा बसेको मन्त्रिपरिषद् बैठकले किसानले पाउने कच्चा दूध (४ फ्याट र ८ एसएनएफ)को मूल्य प्रतिलिटर ६ रुपैयाँ ८१ पैसा बृद्धि गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई टेक्दै सरकारी स्वामित्वको दुग्ध विकास संस्थाले शुक्रबारदेखि दूधको मूल्यमा बृद्धि गरेका थियो ।
वि.सं.२०७८ माघ २८ शुक्रवार १३:३९ मा प्रकाशित




























