काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषय तथा अमेरिकी अनुदान रु ५५ अर्ब सहायतालाई संसदबाट अनुमोदन गर्ने, घोषित स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेलगायत विषयमा छलफल भएको छ ।
प्रमुख विपक्ष नेकपा(एमाले)का कारण प्रतिनिधिसभाको अवरोध हटाउन एकताबद्ध भएर अगाडि बढ्ने विषयमा समेत विचारविमर्श भएको थियो ।
छलफलका क्रममा माओवादी अध्यक्ष प्रचण्डले विपक्षी दलको मागलाई समेत दृष्टिगत गरी यही फागुन २ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा बैठक फागुन ४ का निम्ति प्रस्ताव गरेको स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिएकी छन् ।
सत्तारुढ गठबन्धनबीचको एकतालाई आगामी तीनै तहका निर्वाचनसम्म निरन्तरता दिने विषयमा पनि उनीहरूबीच मतैक्यता रहेको थियो ।
वि.सं.२०७८ माघ २९ शनिवार १७:३३ मा प्रकाशित






























