काठमाडौं । वाणिज्य बैंकहरुले फागुन १ गतेदेखि निक्षेपको ब्याजदर बढाएका छन् । २६ वटा वाणिज्य बैंकले फागुन १ गतेदेखि व्यक्तिगत मुद्दतीमा ११ दशमलब ०३ र संस्थागत मुद्दतीमा १० दशमलब ०३ प्रतिशत ब्याजदर लागू गरेका हुन् ।
मुद्दती निक्षेपमा दिइने ब्याजदरभन्दा रेमिट्यान्स मुद्दतीमा १ प्रतिशत बढी दिनु पर्ने राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले रेमिट्यान्स निक्षेपमा १२ दशमलब ०३ प्रतिशत ब्याजदर बनाएका छन् ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने व्यक्तिगत मुद्दतीमा ९ दशमलब ५ प्रतिशत र संस्थागतमा ८ दशमलब ५ प्रतिशत निर्धारण गरेको छ ।
माघ महिनामा व्यक्तिगत तर्फ १० दशमलब ०३ प्रतिशत मुद्दती निक्षेपमा ब्याजदर रहेको थियो । पुस महिनामा वाणिज्य बैंकहरुले ११ दशमलब ०३ प्रतिशतसम्म बढाउने बाटो खुला गरे पनि निक्षेप संकलन हुन नसकेको भन्दै पुस र माघ महिना ब्याजदर बढाएका थिएनन् । यसअघि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १० दशमलब ०३ प्रतिशत रहेको थियो ।
कर्जाको ब्याजदर पनि बढ्ने
वाणिज्य बैंकहरुले ब्याजदर बढाउदा पनि निक्षेप नबढेको भन्दै गत महिना ब्याजदर स्थिर राखेका थिए । तर प्रणालीमा लगातार तरलता दबाव बढ्दै जाँदा बैंकहरुले ब्याजदर बढाएका हुन् । निक्षेपको व्याजदर बढेसँगै कर्जाको व्याजदर पनि स्वतः बढ्ने भएको छ ।
नेपाल बैंकर्स संघ(एबीए)को गत शुक्रबारको बैठकले फागुनको १ गतेबाट लागू हुने गरी निक्षेपको ब्याजदर बढाउने निर्णय गरेको थियो । केन्द्रीय बैंकले एक महिनामा समग्र बैंकिङ सिष्टमको औसत ब्याजदर भन्दा १० प्रतिशतले मात्रै घटबढ गर्न पाउने व्यवस्था गरेको छ ।
केही बैंकका प्रमुखहरुले भने बैंकर्स संघको निर्णय सही नभएको तर्क गरेका छन् । बैंकर्स संघले यो बेला ब्याजको दर बढाउनुपर्ने कारण नै रहेको केही प्रमुखहरुको भनाई छ । अहिले सबै प्रकारको निक्षेप खाताको ब्याजदर बढाउँदा बैंकको लागत बढ्ने र आगामी बैशाखदेखि कर्जाको ब्याज झनै बढ्ने अवस्था आउनेभएकाले निर्णय गलत भएको केही बैंकका प्रमुखको भनाई रहेको छ । ब्याजको दर जति बढाएपनि बैंकिंङ प्रणालीमा तरलता नबढेको यथार्थलाई बिर्सिएर बैंकर संघले समग्र बैंकिंङ उद्योगलाई नै असर गर्ने गरि ब्याजको दर बढाउने निर्णय गलत रहेको तर्क गरिएको छ ।
निक्षेपमा विकास बैंकको १२.५५ र फाइनान्सको १२.६५ प्रतिशत ब्याज
वाणिज्य बैंकहरुले फागुन १ गतेबाट लागु हुने निक्षेपको ब्याजदर बढाउने निर्णय गरेसँगै विकास बैंक र वित्त कम्पनीहरुले पनि निक्षेपको ब्याजदर बढाउने निर्णय गरेका छन् ।
विकास बैंकका सीईओेहरुको संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनले विकास बैंकहरुले मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ११ दशमलब ५५ प्रतिशत पुर्याउने निर्णय गरेको छ । त्यस्तै रेमिट्यान्स बचतलाई भने १२ दशमलब ५५ प्रतिशतसम्म दिनसक्ने जनाइएको छ । विकास बैंकमा संस्थागत मुद्दती निक्षेपमा १० दशमलब ३५ प्रतिशत र बचतको न्यूनतम ब्याजदर ६ दशमलब ५५ प्रतिशत पुग्ने भएको छ ।
फाइनान्स कम्पनीले निक्षेपमा विकास बैंकको भन्दा ० दशमलब १ प्रतिशत बढी प्रदान गर्ने भएका छन् । ११ दशमलब ६५, रेमिट्यान्सको मुद्दती निक्षेपमा १२ दशमलब ६५ र संस्थागत मुद्दतीमा ११ दशमलब ६५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएका हुन् ।
वि.सं.२०७८ फागुन १ आइतवार २१:०५ मा प्रकाशित






























