काठमाडौं । एमसीसीको विषयमा सत्तारुढ गठबन्धनका बीचमा छलफल गर्ने तयारी भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अलग्गै छलफलमा जुटेका छन् । दुई नेताबीच केहीबेरअघिदेखि सिंहदरबारस्थित नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा दाहालको कार्यकक्षमा छलफल चलेको हो ।
आज साँझ ५ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ । त्यसअघि प्रचण्ड र माधव नेपाल अलग्गै छलफलमा जुटेका हुन् । छलफलमा जनता समाजवादी पार्टीका नेता एवम् संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठसमेत सहभागी छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अनुमोदन गराउनुपर्ने पक्षमा छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीभित्र एमसीसी संशोधन बिना पारित गर्न नहुने धारणा देखिएको छ ।
माओवादी केन्द्रको संसदीय दलले एमसीसी यथास्थितिमा पारित गर्न नहुने निर्णय गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले एमसीसीमा अडान राख्दै आवश्यक सरकारबाट बाहिरिने निर्णय गरेको थियो । माओवादी निर्णयसँगै देउवा केही लचक देखिएका थिए । साँझ बोलाइएको गठबन्धनको बैठकबाट साझा धारणा बनाउने तयारीमा दलहरु छन् ।
वि.सं.२०७८ फागुन ५ बिहीवार १५:१९ मा प्रकाशित






























