सप्तरी । सुरुङ्गा नगरपालिका-२ की उर्मिला निरौला खेलौना (गुडिया) बनाएर आवश्यकता पूरा गर्दैै आएकी छिन् । उनी आत्मनिर्भर बन्न र स्वरोजगार बन्न समेत खेलौना बनाउने सीपसमेतक सिक्दै छिन् । निरौला बौद्धिक अपाङ्गता अभिभावक सङ्घले आयोजना गरेको दुईहप्ते तालिममा सहभागी भएकी छिन् ।
निरौला ३५ किलोमिटर टाढा राजविराज आएर दैनिक तालिम लिइरहेकी छिन् । अविवाहित उनले आत्मनिर्भर हुन सीप सिकिरहेको बताइन्। “म कसैको बोझ बन्न चाहन्न”, निरौलाले भनिन् । भारतीय बजार नजिकै भएका कारण अगरबत्ती, साबुन, मैनबत्ती जस्ता समानमा प्रतिस्पर्धा गर्न नसक्दा खेलौना बनाउन आकर्षित भएको उनको भनाइ छ ।
निरौला जस्तै अन्य अपाङ्गता भएका महिलाले तालिम लिइरहेका छन् । तालिममा राजविराजसहित सप्तकोसी, सुरुङ्गा, बोदे बर्साइन, हनुमाननगर कङ्काल्नी नगरपालिकालगायतका महिला सहभागी छन् । खेलौना बनाउने तालिममा सहभागी भएपछि उनीहरू आशावादी बनेका छन् । सप्तकोसी नगरपालिका-१ फत्तेपुरबाट ४० किमीको बसयात्रा तय गरेर तालिममा सहभागी भएकी उर्मिला चौधरी यसबाट जीविकोपार्जन गर्न मद्दत पुग्ने बताउँछिन् । उनका श्रीमान् खगेनको कोभिड-१९ का कारण गत असार ४ गते ज्यान गयो । अपाङ्गता भएकी उर्मिला त्यसयता सहाराविहीन भएकी छिन् ।
ऐलानी १० धुर जग्गामा बसोबास गरिरहेकी उर्मिलालाई वृद्ध सासूको स्याहार र १३ वर्षीय छोरोको लालनपालनको जिम्मेवारीसमेत सम्हाल्नु परेको छ । दुवै जनाको स्याहारका लागि कुनै न कुनै सीप सिकेर आम्दानीको बाटो खोज्नुपर्ने उर्मिलाको बाध्यता छ ।
यसैगरी हनुमाननगर कङ्काल्नी-१२ की सङ्गीता खड्का पनि क्षमता विकास र आयआर्जनका लागि तालिममा सहभागी भएकी छिन् । अविवाहिता खड्काले घरमै ट्युसन पढाउने र किशोरी शिक्षा दिने गरिरहेको बताइन्। खेलौनाको माग बढ्दै गएको उनले बताइन् ।
राजविराज नगरपालिका-८ की आरती मण्डल खेलौनाले बनाउने तालिम लिनथालेपछि सीपले जीवन गुजार्न सहज हुने विश्वास व्यक्त गरिन् । “तालिमले केही गरेर बाँच्न सकिन्छ भन्ने मनोबल बढेको छ”, उनले भनिन्, “घरमै बसेर आय आर्जनको अवसर पाउने विश्वास छ ।”
पहिलो पटक अपाङ्गता भएका महिलालाई तालिम प्रदान गरिएको प्रशिक्षक कविता दासले बताइन् । तालिममा अपाङ्गता भएका २० जना सहभागी छन् ।
वि.सं.२०७८ फागुन ५ बिहीवार १५:२४ मा प्रकाशित






























