काठमाडौं । बहुचर्चित अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा गठबन्धनबीच धेरैपटकको छलफल र प्रयासका बाबजुद पनि सहमति जुट्न सकेको छैन ।
बिहीबार गठबन्धनभित्र सहमति जुटाएर शुक्रवारको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गरिने नेपाली कांग्रेसको अडान रहेपनि बिहीबारको बैठक बिना निष्कर्ष टुंगिएपछि त्यो संभावना कम हुँदै गएको छ । यद्यपी आज पुनः बस्ने गठबन्धनको बैठक एमसीसी बारेमा एउटा निष्कर्षमा पुग्नेछ भन्ने आसा गरिएको छ ।
यसअघि पटक–पटक संशोधन गरेर मात्र एमसीसी अनुमोदन गर्ने अडान राख्दै आएको नेकपा माओवादी केन्द्रले बिहीबारको बैठकमा केही लचकता देखाउँदै संसद अवरोधका बिच कसरी एमसीसी टेवुल हुन सक्छ भन्ने प्रश्न राखेको छ ।
यी हुन् माओवादी केन्द्रले बिहीबा राखेको पाँच असहमति
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बिहीबारको बैठकमा आफ्नो पार्टीले पाँच असहमति राखेको बताएका छन् । नेता श्रेष्ठका अनुसार माओवादी केन्दले राखेको पाँच असहमतिमा पहिलो संविधान र कानुनको प्राबधानसँग मेल खान्छ कि खान्न भन्ने प्रश्न गरेको छ ।
दोस्रो -आर्थिक सहायता सम्झौता अहिलेसम्म एउटा पनि संसदबाट अनुमोदन गर्ने दिशामा नलगिएको र एमसीसीलाई लैजादा त्यसको प्रतिक्रिया र परिणाम के हुन्छ ? भन्ने प्रश्न गरेको छ ।
तेस्रो –संसद अवरुद्ध भइरहेका बेला अध्यादेश बाहेक कुनैपनि बिधेयक प्रस्तुत नगरेको अवस्थामा यसलाई कसरी हेर्ने भन्ने प्रश्न गरेको छ ?
चौथो–यस्तो व्यापक र दिर्घकालिन असर पार्ने रािष्ट्रयतासँग जोडिएको संवेदनशील मुद्दा जसका कारण नेपाली समाज व्यापक छलफल र बहसमा रहेको र विभाजित समेत बनेको अवस्थामा त्यस्तो मुद्दा संसद सुचारु नभैकन कसरी बहस, छलफल र निर्णय प्रक्रियामा पुर्याउने ? नेता श्रेष्ठले यो लोकताँिन्त्रक मूल्य मान्यता अनुसार नहुने समेत बताएका छन् ।
पाँचौं–एमसिसी सम्झौता नेपालको घरेलु कानुनभन्दा माथि हुनेछ भन्ने दफालाई प्रभावकारी बनाउन संसदमा ल्याउन लागिएको भन्ने प्रश्न समेत माओवादी केन्द्रले गरेको छ ।
वि.सं.२०७८ फागुन ६ शुक्रवार ०९:५५ मा प्रकाशित




























