काठमाडौं । एमसीसीका विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।
बिहीबार राति अवेरसम्म बसेको बैठकमा एमसीसी अनुमोदनका विषयमा सहमति जुट्न नसकेपछि आज बिहान १० बजे पुनः बैठक बस्ने भएको हो ।
बिहीबारको बैठकमा नेकपा माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) पार्टीले एमसीसी संसदमा टेबुल गर्नका लागि पहिले संसद अवरोध हट्नुपर्ने र त्यसका लागि एमालेसँग संवाद बढाउन प्रधानमन्त्री शेर बहादुर देउवालाई आग्रह गरेका थिए ।
सत्तागठबन्धनको बैठक सकिए लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका प्रधामन्त्री देउवालाई ओलीले गठबन्धन तोडेर आए सरकारमा सहभागी हुने आशय व्यक्त गरेको बताइएको छ ।
उनले सो भेटमा सहमतिमा प्रतिनिधिसभा विघटन गरेर जेठमा अर्ली इलेक्सनका विषयमा छलफल गर्न पनि आफु तयार रहेको बताएको स्रोतले जनाएको छ ।
त्यसैगरी सूचना तथा संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले कांग्रेसले एमसीसीका अनुमोदनका विषयमा फागुन १६ गतेसम्म निष्कर्षमा पुर्याएरै छाड्ने बताएका छन् ।
‘अब फेब्रअरी २८ (फागुन १६ गते) सम्ममा यसलाई हामीले निष्कर्षमा पुर्याउने हुनाले यसलाई टेवुल गर्नका लागि प्रधानमन्त्रीले प्रस्ताव गर्नु भएको छ । यहि प्रस्तावको परिवरी बसेरधेरै छलफल भएको छ,’ मन्त्री कार्कीले भनेका छन्, ‘एमसीसीलाई १६ गतेभित्रमा निष्कर्षमा पुर्याउने गरेर छलफल केन्द्रीत छ ।’
वि.सं.२०७८ फागुन ६ शुक्रवार ०८:५३ मा प्रकाशित






























