काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सदनमा पेस भएसँगै सत्ता सहयात्री दलहरुका बीच तिव्र मतभेद देखिन थालेको छ । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस जसरी पनि एमसीसी पारित गराउने प्रक्रियामा अघि बढेसँगै मतभेद बढेको हो ।
कांग्रेस जसरी पनि एमसीसी पारित गर्ने तयारीमा बढीरहेका बेला अर्को मुख्य सत्ता सहयात्री माओवादी केन्द्रले गठबन्धन भंग हुनसक्ने चेतावनी दिएको छ । तर, माओवादी केन्द्रको चेतावनीप्रति भने कांग्रेसले चाँसो देखाएको छैन् ।
संसदमा एमसीसी पेस हुँदै गर्दा सत्ता गठबन्धनका दल तथा नेताहरु नाराबाजीमै उत्रिएका थिए । तर, तिव्र असमझदारी र मतभेदकै बीच कांग्रेसले एमसीसीलाई अगाडि बढाएको छ ।
दलहरुभित्रै विवाद बढ्दै
एमसीसी पेस गर्ने विषयमा भएको छलफलदेखि नै सत्तारुढ दलहरुभित्र मतभेद र असन्तुष्टि देखिएको थियो । एमसीसी टेबल गर्ने सहमतिसँगै मुख्यतः माओवादी केन्द्र र एकीकृत समाजवादीभित्र निकै विवाद बढ्यो । टेबल गर्ने विषयमा सहमति गरिएको प्रति शीर्ष नेताहरुविरुद्व अन्य नेता तथा कार्यकर्ता खनिए ।
एमसीसी टेबल गर्न सहमत नेताहरु सदनमा चुपचाप बसे तर, अन्य नेताहरु रोकिएनन् । एकीकृत समाजवादीका सांसदहरु चुपचाप बसिरहँदा वरिष्ठ नेता झलनाथ खनाल एक्लै नाराबाजीमा उत्रिए । एमसीसी टेबल गर्ने विषयको विरोधमा सत्तारुढ दलहरुकै नेता तथा कार्यकर्ता सडकमै ओर्लिए । एमसीसी पेस गरिएको विषयमा दलहरुभित्र तिव्र विवाद मात्रै होइन विभाजनको अवस्था पनि ल्याएको देखिन्छ ।
तर, एमसीसी पास हुनेमा कांग्रेस निश्चिन्त
एमसीसी संसदको प्रक्रियामा अघि बढेसँगै माओवादी केन्द्रभित्र तिव्र असन्तुष्टी बढेको छ । माओवादी बहुमत नेताहरुले सरकारबाट बाहिरिनुपर्ने धारणा पनि राखिरहेका छन् । प्रमुख सचेतकसमेत रहेका नेता देव गुरुङले बताएअनुसार माओवादी एमसीसी पारित हुने अवस्था आए सरकारमा रहन्न ।
यता एकीकृत समाजवादीभित्र पनि एमसीसी टेबल गर्ने विषयले तिव्र विवाद सिर्जना गराएको छ । नेताहरु गठबन्धनमा रहीरहन नै अप्ठ्यारो भएको बताउन थालेका छन् । यद्यपि एमसीसी पारित भएको खण्डमा भने सरकारमा नरहने नेताहरुको भनाई छ । गठबन्धनको अर्को दल जसपा भने एमसीसीकै कारण विभाजित अवस्थामा छ । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई एमसीसीलाई नै देखाएर पार्टी विभाजनको तयारीमा जुटेका छन् ।
तर, एमसीसीकै कारण गठबन्धन भंग हुने अवस्थामा पनि सत्ता नेतृत्वमा रहेका नेपाली कांग्रेस भने जसरी पनि एमसीसी अघि बढाउने पक्षमा देखिएको छ । कांग्रेसका नेताहरुले दिएको प्रतिक्रियाले पनि सो विषयलाई स्पष्ट पार्छ ।
“हामीले बैठकमै भनिसक्यौँ ‘तपाईँहरू यसमा भोट हाल्न भोट नहाल्न, सरकार छाड्न सबै कुराका लागि स्वतन्त्र हुनुहुन्छ’” कांग्रेस महामन्त्री गगन थापाले गठबन्धन बैठक पछि सञ्चारकर्मीसँग भनेका थिए ।
कांग्रेसले यसअघि संसदीय दलको बैठकबाटै एमसीसीकै कारण गठबन्धन भंग भए स्वीकार गर्ने निर्णय गरेको थियो । जसलगत्तै कांग्रेस नेताहरु प्रमुख प्रतिपक्षी एमालेसँग संवादमा जोडिएका थिए ।
एमालेसँगको आशंकाले कांग्रेस पर्खाइमा
माओवादी केन्द्रसँग यसअघि गठबन्धन गरेको अनुभवका आधारमा पनि निर्णय लिनुपर्ने दबाब कांग्रेसभित्र छ । ०७४ सालमा भएको अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेससँग तालमेल गरेको माओवादी केन्द्रले कांग्रेस नेतृत्वको सरकारमै सहभागी भएका बेला संसदीय निर्वाचनमा भने एमालेसँग गठबन्धन गरेको थियो।
एमालेसँग गठबन्धन गरेपछि पनि सरकारमा रहेपछि देउवालाई सबै माओवादी मन्त्रीहरुलाई विनाविभागीय बनाएका थिए । अहिले माओवादीले अन्तिम अवस्थामा कस्तो निर्णय लिन्छ भन्ने यकिन कांग्रेसले गरिसकेको छैन् ।
अकोतिर, प्रमुख प्रतिपक्षी एमालेसँग संवादमा रहेको भएपनि कांग्रेसले एमालेसँग सहकार्य गर्ने विषयलाई सहज लिएको छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीले आवश्यक पर्दा जस्तो सुकै कदम चाल्न तयार हुने विगतको अनुभवले पनि कांग्रेसलाई झस्काएको देखिन्छ । अर्कोतर्फ, एमालेलाई प्रतिगामी भन्दै सरकारमा आएको कांग्रेसलाई सहकार्य विषय नैतिकताको विषयले पनि सहज बनाएको देखिन्न ।
निष्कर्षमा, एमसीसी पारितको प्रक्रियासँगै भने सत्ता गठबन्धन भंग हुने अवस्था निश्चित छ । माओवादी केन्द्र र एकीकृत समाजवादी पारित भएमा सरकारबाट बाहिरिने निश्चित छ भने सत्ता नेतृत्वकर्ता कांग्रेस फेल भए । एमसीसी पारितको प्रक्रियासँगै थप राजनीतिक अस्थिरता बढ्ने कुरामा दुइमत नभएको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ ।
वि.सं.२०७८ फागुन १० मंगलवार १५:३८ मा प्रकाशित























