काठमाडौं । रुसले युक्रेनमा गरेको हमलापछि पश्चिमी देशहरूले रुसमाथि कडा प्रतिबन्ध लगाएका छन् । यद्यपि उनीहरुले रुसको ग्याँस र तेल उद्योगलाई त्यसमा समावेश गरेका छैनन् । यदि रुसले तेल निर्यातमा पूर्ण प्रतिबन्ध लगाइएमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ३ सय डलर पुग्न सक्ने बताएको छ ।
अहिले युरोपियन युनियनले आफ्नो आधा ग्यास, कोइला र करिब एक तिहाइ तेल रूसबाट आयात गर्दछ ।
यही समयमा, युरोपले ग्यास, कोइला र तेलमा आफ्नो निर्भरता कम गर्न फरक बाटो लिन खोजिरहेको छ । सञ्चार माध्यमका अनुसार रुसमाथिको निर्भरता कम गर्न युरोपेली संघका नेताहरुको यो बिहीबार र शुक्रबार बैठक बस्दैछ ।
रुसको धम्की
पश्चिमी देशहरूबाट प्रतिबन्ध र चेतावनी पछि, रुसले जर्मनी जाने मुख्य ग्यास पाइपलाइन बन्द गर्न सक्ने धम्की दिएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दबाब दिन अमेरिकाले आफू र त्यसका युरोपेली सहयोगीहरूले रुसबाट तेल आयातमा प्रतिबन्ध लगाउने विचार गरिरहेको बेला रुसले यस्तो धम्की दिएको हो ।
विश्वभर तेलको मूल्य सन् २००८ यताकै उच्च स्तरमा पुगेको छ । सोमबार कच्चा तेलको मूल्य प्रति ब्यारेल १३९ डलर पुगेको थियो । रुसका उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले रुसी तेल अस्वीकार गर्दा विश्व बजारमा थप नराम्रो असर पर्ने बताएका छन् । कच्चा तेलको मूल्य दोब्बर भएर प्रति ब्यारेल ३ सय डलर पुग्न सक्ने उनको भनाइ छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले फ्रान्स, जर्मनी र बेलायतका नेताहरूसँग छलफल गरी प्रतिबन्धका लागि समर्थन मागेका छन्। यद्यपी अन्यको साथ नपाए अमेरिका एक्लै अगाडि बढ्ने तयारीमा छ ।
तर, युरोपका अधिकांश देशहरू रूसी ऊर्जा स्रोतहरूमा निर्भर छन्। योसँगै अमेरिकाले रुसबाट तीन प्रतिशत तेल आयात गर्ने गरेको छ ।
रुसबाट पाइपलाइनबाट ग्यास जर्मनी पुग्छ । गत महिना, जर्मनीले दोस्रो ग्यास पाइपलाइन नोर्ड स्ट्रिम २ को प्रमाणीकरण रोकेको थियो । रुसी नेता नोभाकले भने, “हामीसँग पनि यस्तै निर्णय गर्ने अधिकार छ, नर्ड स्ट्रिम १ ग्यास पाइपलाइनबाट ग्यास रोक्न सकिन्छ ।”
रूसले कति तेल र ग्यास दिन्छ ?
रसिया अमेरिका र साउदी अरेबिया पछि विश्वको तेस्रो ठूलो तेल उत्पादक राष्ट्र हो। विश्वको तेल आपूर्तिको लगभग ८ देखि १० प्रतिशत रूसबाट आउँछ।
रुसले हरेक दिन ४ देखि ५ मिलियन ब्यारेल कच्चा तेल र ८,५०० अर्ब घन फिट प्राकृतिक ग्यास निर्यात गर्छ। यसको धेरैजसो भाग युरोपमा जान्छ। रुसले युरोपियन युनियनमा ४० प्रतिशत ग्यास र ३० प्रतिशत तेल निर्यात गर्छ, जसको आपूर्ति अवरुद्ध भए विकल्प खोज्न सजिलो हुने छैन।
विश्व उर्जा बजारमा रुसको महत्वपूर्ण भूमिकाका कारण अमेरिका र युरोपेली संघले रुसको तेल र ग्यास उद्योगमा पूर्ण प्रतिबन्ध लगाउन सकेका छैनन् । यसैलाई ध्यानमा राख्दै सोमबार जर्मन चान्सलर ओलाफ शुल्ट्जले रुसको तेल र ग्यासमा ठूलो मात्रामा प्रतिबन्ध लगाउने विचारलाई अस्वीकार गरेका छन् । उनले भने कि युरोपले “जानीजानी रुसी ऊर्जालाई प्रतिबन्धहरूबाट छुट” दिएको थियो किनभने यस समयमा ऊर्जा आपूर्तिलाई “अन्य तरिकाले” बचाउन सकिँदैन।
युरोपका देशहरूलाई तेलभन्दा बढी ग्यास चाहिन्छ, र युरोपेली संघले यसको ६१ प्रतिशत ग्यास आयात गर्दछ, जसमध्ये ४० प्रतिशत रूसबाट आउँछ।
यदि रूसले युरोपलाई ग्यास आपूर्ति गर्न अस्वीकार गर्यो भने, युरोपले ग्यास संकटको सामना गर्न सक्छ, यस्तो अवस्थामा उसले ग्यास प्राप्त गर्न अन्य उपायहरू खोज्नुपर्नेछ।
ब्रोगेल थिंक ट्याङ्कको अनुमानका अनुसार यदि रुसले युरोपलाई ग्यास आपूर्ति बन्द गर्छ भने, ईयू देशहरूले पहिले नै भण्डार गरिएको ग्यासमा भर पर्नु पर्नेछ, जुन निकै नै कष्टकर हुनेछ ।
युरोपेली देशहरूले अप्रिलमा तापक्रम बढेपछि जाडोमा प्रयोग गर्न सकिने गरी ग्यास भण्डारण गर्ने गर्दछन् । यसको मतलब उनीहरूले ग्यासको लागि फरक स्रोत खोज्नुपर्नेछ।
यस्तो अवस्थामा यी देशहरूले उत्तर अफ्रिका र अजरबैजान जस्ता देशहरूबाट तरल प्राकृतिक ग्यास आयात गर्न सक्छन्। यसको अतिरिक्त ग्यासको ठूलो मात्राले युरोपेली ग्यास क्षेत्रलाई दबाब दिनेछ र पहिले नै बढ्दो ग्यासको मूल्यलाई अझ बढाउनेछ।
रुसी तेलको विकल्प के होला ?
युरोपले तुरुन्तै रुसको तेल र ग्यास लिन बन्द गर्ने छैन, तर अब युरोपेली देशहरूले रुसको तेल र ग्यास आपूर्तिका लागि विभिन्न विकल्पहरू भने खोज्नेछन्।
आइतबार, ठूलो तेल कम्पनी शेलले रूसबाट कच्चा तेल खरिद गर्ने आफ्नो निर्णयको बचाउ गर्यो। युरोपमा तेलको आपूर्ति कायम राख्न रुसबाट तेल किन्न बाध्य भएको कम्पनीले जनाएको छ ।
शेल कम्पनीका प्रवक्ताले भनेका थिए, “रिफाइनरीहरूमा कच्चा तेलको निरन्तर आपूर्तिको बावजुद, ऊर्जा उद्योगले आगामी हप्ताहरूमा युरोपभरका मानिसहरूलाई आवश्यक उत्पादनहरूको निरन्तर प्रावधानको आश्वासन दिन सक्दैन ।”
रूसको तेलमा सम्भावित प्रतिबन्धले यसको अन्य विकल्पहरूमा दबाब बढाउनेछ।
तेलको निर्बाध आपूर्तिको लागि, अमेरिकाले साउदी अरबलाई यो हप्ता कच्चा तेल उत्पादन बढाउन दबाब दिन सक्छ। यससँगै इरानको आणविक सम्झौता अगाडि बढ्न सक्छ ताकि उसको तेल निर्यातमा लगाइएको प्रतिबन्ध हटाएर तेलको आपूर्ति यथावत राख्न सकियोस्।
वि.सं.२०७८ फागुन २५ बुधवार १४:५४ मा प्रकाशित






























