काठमाडौं । भारतीय पक्षबाट क्षेप्यास्त्र प्रहार भएसँगे भारत र पाकिस्तानबीच तनाव बढेको छ । पाकिस्तानले युद्धको निम्ति भारतले उस्काइरहेको आरोप लगाएको छ । भारतभित्रै पनि बिनाकारण क्षेप्यास्त्र आक्रमण गरिएको भन्दै विरोध भइरहेको छ ।
यसैबीच रक्षामन्त्री राजनाथ सिंहले मंगलबार संसदको दुवै सदनलाई क्षेप्यास्त्र प्रहारको घटनाबारे स्पष्टीकरण दिएका छन् । मंगलबार दुवै संसदलाई सम्बोधन गर्दै उनले क्षेप्यास्त्र प्रहार अन्जानबस भएको भन्दै सरकारको तर्फबाट माफी मागेका छन् ।
रक्षामन्त्री सिंहले मिसाइल युनिटको नियमित मर्मतसम्भार निरीक्षणको क्रममा संयोगवश मिसाइल प्रहार भएको बताएका छन् । उनले विषयमा गम्भीरताका साथ सरकारले छानबिन अगाडि बढाएको पनि जानकारी गराउका छन् ।
सिंहले अन्जानमा मिसाइल प्रहार भएको तर, कहाँ खस्यो भन्ने पछि मात्रै थाहा भएको बताए । पाकिस्तानी पक्षलाई यसबारे जानकारी गराइएको उनले संसदलाई बताएका छन् ।
गत ९ मार्चमा भारतबाट छुटेको मिसाइल पाकिस्तानको पञ्जाबको मियाँ चन्नु क्षेत्रमा खसेको थियो । रुस–यूक्रेन युद्ध चलिरहेकै बखत मिसाइल प्रहार भएसँगै भारत र पाकिस्तानबीच तनाव बढेको थियो ।
वि.सं.२०७८ चैत १ मंगलवार १२:४९ मा प्रकाशित






























