काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मङ्गलबार आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग अन्तक्र्रिया गरेका छन् ।
मन्त्री श्रेष्ठले नक्कली मागपत्र बनाउने, झुठो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानूनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट नेपालीलाई युएई ल्याउने कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन अन्तर्राष्ट्रिय प्रहरी अपराध सङ्गठन (इन्टरपोल)को सहयोगमा युएईबाट नेपाल झिकाउने तयारी गरिएको बताएका छन् ।
वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने अभियान अघि बढाइएको उल्लेख गर्दै उहाँले गैरकानूनी काम गर्ने नेपाली विदेशी भूमिमा पनि नजोगिने बताए । नेपाली नागरिकलाई युएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले नेपाली समुदायबाट सुझाव लिएका छन् ।
उनले इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरेर दलालको खोजी गरी कारवाहीको दायरामा ल्याउन लागिएको बताए । नेपाली नागरिकलाई युएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन सजिलो होस् भनेर आफ्नो भ्रमण टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षकलाई पनि सहभागी गराएको उनले बताए ।
मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीको समस्या समाधानमा सहयोग गर्न आफूले युएई सरकारसँग पनि आग्रह गरेको बताए । अलपत्र परेका नेपालीलाई युएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानूनीरूपमा बस्नुपर्ने बाध्यता भएकालाई आममाफी दिने तथा उद्धार गर्नुपर्नेलाई नेपाल फिर्ता गर्न युएई सरकारसँग सहयोगको आग्रह गरिएको बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्याल, नेपाली राजदूत कृष्णप्रसाद ढकाल, श्रम मन्त्रालय तथा दूतावासका कर्मचारीसहित नेपाली सङ्घसंस्थाका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घका प्रतिनिधि र श्रमिकको सहभागिता थियो । कार्यक्रमका सहभागीले नेपाली श्रमिकले युएईमा भोगेको समस्याबारे मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए ।
वि.सं.२०७८ चैत ३ बिहीवार ०९:२२ मा प्रकाशित






























