काठमाडौं । मुलुक पुनः स्थानीय तहको निर्वाचनको विषयले तात्तिएको छ । निर्वाचनको तयारी गर्न दलहरु तल्लो इकाई केन्द्रीत कार्यक्रममा व्यस्त छन् । दलहरुभित्र आन्तरिक रुपमै पनि कहाँ, को उम्मेद्वार बन्ने भन्ने प्रतिस्पर्धा देखिन थालेको छ । साथै, कुन दलको प्रभाव कुन क्षेत्रमा भन्ने आधारमा पनि तयारी केन्द्रीत हुन थालेको देखिन्छ ।
महानगरपालिकाभित्र यसअघि जस्तै दलहरुको चुनावी तयारी तात्तिएको छ । दलहरुले महानगरलाई केन्द्रीत गरि गठबन्धन निर्माणको पनि प्रयास गरिरहेका छन् ।
६ महानगरमध्ये यसअघि एमालेले दुई, कांग्रेसले दुई, माओवादी केन्द्रले एक र संघीय समाजवादी फोरमले एक महानगर जितेका थिए । सबैभन्दा ठूलो महानगर काठमाडौं र पोखरामा एमालेले निकै फराकिलो मतान्तरले जितेको थियो ।
काठमाडौं उपत्यकाकै अर्को महानगर ललितपुर र पूर्वी तराईको महानगर विराटनगरमा कांग्रेसले जित हात पारेको थियो । काठमाडौं र पोखरासँगसँगै चर्चामा आइरहने भरतपुर महानगरमा माओवादी केन्द्रले जित हात पारेको थियो । भरतपुर महानगरमा माओवादी केन्द्रलाई जिताउन कांग्रेसले सघाएको थियो ।
यता वीरगञ्ज महानगरपालिकामा तत्कालिन संघीय समाजवादी फोरमले जितेको थियो । जनता समाजवादी पार्टी (जसपा)मा रुपान्तरित भएको उक्त पार्टीबाट विजयी मेयर भने अहिले एमालेमा छन् ।
आगामी सम्भावना कस्तो ?
१. काठमाडौं महानगर
काठमाडौं महानगरमा निकै फराकिलो मत करिब २० हजार मतान्तरले जितेको एमालेले तत्कालिन समय राप्रपासँग चुनावी गठबन्धन गरेको थियो । एमालेका विद्या सुन्दर शाक्यले ६४ हजार ९१३ मत ल्याउँदै विजयी हुँदा निकटतम प्रतिद्धन्दी कांग्रेसका राजु राज जोशीले ४५ हजार २६९ मत पाएका थिए । उपप्रमुखमा भने कांग्रेसकी हरिप्रभा खड्गी ५८ हजार ९५२ मतसहित विजयी भएकी थिइन् ।
काठमाडौं महानगरमा मुख्यतः एमाले र कांग्रेसबीच प्रतिस्पर्धा देखिएको थियो । महानगरमा विवेकशील नेपाली दल र साझा पार्टीको मत बलियो देखिएको भएपनि अन्य पार्टीको उपस्थिति भने निकै कमजोर देखिन्थ्यो । माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका सर्वोत्तम डंगोलले मात्रै ७ हजार ९०६ मत ल्याएका थिए ।
एमालेका तर्फबाट विजयी विद्या सुन्दर शाक्यले निकै आकर्षक चुनावी घोषणापत्र ल्याएका थिए । उनले काठमाडौंलाई सय दिनमै उत्कृष्ट सहर बनाउने मात्रै होइन काठमाडौंमा रेल गुडाउनेसमेत सपना देखाएका थिए । ठूला–ठूला सपना बाँडेका शाक्यले भने आफ्नो कार्यकाल सकिनै लाग्दासमेत स्मरण गर्न सक्ने कुनै एक काम पनि गर्न सकेका छैनन् । उल्टै उनको आगमनसँगै काठमाडौं थप अव्यवस्थित र भ्रदगोल शहर बनेको छ । काठमाडौंमा आधारभूत मानिएको फोहोर व्यवस्थापनको विषयमा समेत उनले कुनै ठोस कदम चाल्न सकेनन् । शाक्य निकै अलोकप्रिय बनेको स्पष्ट हुन्छ ।
आगामी चुनावमा शाक्यकै कारण एमालेको मत घट्ने निश्चित छ । साथै, एमाले विभाजनको असर स्वरुप पनि एमालेले यसअघि पाएको लोकप्रिय मत पाउन कठिन देखिन्छ । आगामी चुनावमा काठमाडौंमा गठबन्धन निर्माण हुने निश्चित छ, जसको आधारमा कसले जित्छ भन्ने विषय अहिले नै भन्न सकिन्न । तथापि अलोकप्रिय भएका कारण एमालेलाई पुनः अनुमोदिन हुन निकै गाह्रो छ । तथापी, काठमाडौंको अवस्था मुख्यतः एमाले र कांग्रेसबीचमै प्रतिस्पर्धा हुने देखिन्छ । अन्य दलको भूमिका जिताउने र हराउनेमा केन्द्रीत हुने सम्भावना छ ।
२. ललितपुर महानगर
ललितपुर महानगरमा पनि मुख्यतः एमाले र कांग्रेसबीच प्रतिस्पर्धा भएको थियो । कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले एमाले–राप्रपा गठबन्धनका साझा उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई निकै झिनो मत ३२६ मतले हराएका थिए ।
ललितपुरमा पनि एमाले र कांग्रेस सँगसँगै साझा पार्टी, माओवादी केन्द्र प्रतिस्पर्धीको रुपमा देखिएका थिए । निर्वाचनमा महानगरमा प्रमुख र उपप्रमुख नै कांग्रेसले जितेको थियो ।
ललितपुरको नेतृत्वमा आएसँगै मेयर चिरिबाबु महर्जन विवादमा नपरेपनि उनले घोषणापत्रमा भनेका कामहरु भने गर्न सकेका छैनन् । उनले घोषणापत्रमा उल्लेख गरेका आकाशेपुल निर्माण, चक्रपथ निर्माण, तरकारी चिस्यान केन्द्र लगायतका योजना अलपत्र छन् । घोषणा गरेका योजनाहरु अलपत्र भइरहँदा महर्जनले भने फोहोर व्यवस्थापनदेखि महानगरलाई सुन्दर बनाउने गरि भने केही राम्रो काम गरेका छन् । काठमाडौं महानगरको तुलनामा महर्जनले गरेको काम सराहनीय छ ।
महर्जनले प्रतिवद्धता जनाएअनुसार काम गर्न नसकेको कारण आगामी निर्वाचनमा कांग्रेसको अवस्था के हुन्छ भन्न सकिन्न, तथापी केही सुधारात्मक कामका कारण यसअघिको मतलाई कायमै राख्न सक्ने अवस्था भने देखिन्छ । फेरि पनि, ललितपुरमा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । ललितपुरमा अन्य दल मुख्य दलका उम्मेदवारलाई जिताउन वा हराउन निर्णायक हुनेछन् ।
३. पोखरा महानगर
पर्यटकीय राजधानीको रुपमा समेत परिचित पोखरा महानगर राजनीतिक हिसाबले पनि केन्द्रीय राजधानी पछिको महत्वपूर्णं क्षेत्रको रुपमा चिनिन्छ । पोखरामा मुख्यतः एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुने गरेको देखिन्छ । ०७४ मा सम्पन्न स्थानीय निकायको निर्वाचनमा पनि पोखरामा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा भएको थियो । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई एमालेले हराएको थियो । एमालेका उम्मेदवार मानबहादुर जिसीले झण्डै १४ हजार मतान्तरले कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार रामजी कुँवरलाई हराएका थिए ।
निकै लोकप्रिय मतसहित जित हात पारेपनि जिसीले मेयर बनेपछि भने प्रतिबद्धता गरेअनुसारका कुनै पनि काम गर्न सकेनन् । उनले पोखरामा दुरगामी प्रभाव पार्ने रिङ्गरोड, बसपार्कदेखि विभिन्न पूर्वाधार निर्माणमा जनाएका प्रतिबद्धता अहिले पुरै अलपत्र छन् । फोहोर व्यवस्थापन गर्न, ल्याण्डफिल बनाउन बाँडेको योजना पनि अहिलेसम्म अलपत्र नै छ । महानगरको नेतृत्वमा जिसी आएसँगै पोखरा थप अव्यवस्थित बनेको धेरैको टिप्पणी छ ।
मेयर स्वंय बिरामी परे पछि भने सामान्य कामसमेत अलपत्र पर्न पुगेका छन् । निकै अलोकप्रिय बनेका कारण आगामी निर्वाचनसमेत एमालेको लागि कठिन हुने धेरैको आकंलन छ । पोखरामा वैकल्पिक शक्ति नदेखिएको कारण फेरि पनि एमाले र कांग्रेसकै बीचमा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।
४. भरतपुर महानगर
भरतपुर महानगरमा माओवादी र कांग्रेसबीच चुनावी गठबन्धन बनेको थियो । माओवादी–कांग्रेस गठबन्धन र एमालेबीच चुनावी प्रतिस्पर्धा भएको थियो । माओवादी–कांग्रेस गठबन्धनको तर्फबाट उम्मेदवार रेणु दाहाल र एमालेका उम्मेदवार देवीप्रसाद ज्ञवालीबीच निकै कडा प्रतिस्पर्धा भएको थियो । निर्वाचनमा दाहाल मात्रै २०३ मतान्तरले विजयी भएकी थिइन् । मतगणनाका बेला भरतपुरमा मतपत्र नै च्यातिएको थियो ।
नेतृ दाहालले चुनावका बेला भरतपुरका जनतालाई निकै लोभलाग्दा सपनाहरु बाँडेकी थिइन् । उनले बाँडेका सपना योबीचमा केही पुरा भएका छन् त केही अलपत्र नै छन् । उनले काठमाडौंका मेयरले जस्तै बाँडेको मोनो रेलका सपना अधुरै छन् भने रिङ्गरोड बनाउनेदेखि केही कामहरु भने पुरा भएका छन् । भरतपुरलाई व्यवस्थित बनाउने सबालमा उनले गरेका केही काम भने समग्र महानगरहरुले नै सिक्ने खालका छन् ।
निर्वाचनको बेला उनले बाँडेका सपना र गरेका कामका आधारमा नेतृ दाहाल लोकप्रिय नै देखिन्छिन् । भरतपुर महानगरको नेतृत्वमा पुगेसँगै माओवादीको मत बढाउन दाहालले काम गरेको धेरैको बुझाई छ ।
यसअघिको निर्वाचनमा निकै प्रतिस्पर्धा भएको कारण आगामी निर्वाचन कस्तो हुन्छ भन्ने यकिनपूर्वक भन्न सकिने अवस्था छैन् । सँगै भरतपुरका मुख्य प्रतिस्पर्धी माओवादी र एमाले दुवै विभाजित अवस्थामा छन् । अहिले एमालेको केही मत माधवकुमार नेपाल पक्षले काट्ने अवस्था छ ।
यता कांग्रेसले आफैं उम्मेदवारी दिन्छ वा कसलाई सहयोग गर्छ भन्ने आधारमा पनि कसले जित्ने भन्ने तय हुने देखिन्छ । भरतपुरमा कांग्रेस हालसम्म तेस्रो पोजिसनमा देखिन्छ । भरतपुरमा राप्रपाको मत पनि उम्मेदवार जिताउन वा हराउन निर्णायक हुने देखिन्छ । राप्रपा यसअघिको चुनावमा चौथो शक्तिको रुपमा देखिएको थियो ।
५. विराटनगर महानगर
त्रिपक्षीय प्रतिस्पर्धा देखिएको विराटनगरमा झण्डै ६ हजारको मतान्तरसहित कांग्रेसका उम्मेदवार भीम पराजुलीले जित हात पारेका थिए । २३ हजार ३१ मत ल्याउँदै पराजुली मेयरमा विजयी हुँदा एमालेका विनोदप्रसाद ढकालले १७ हजार ३२१, तत्कालिन संघीय समाजवादी फोरमका उमेशकुमार यादवले १४ हजार ९५८ मत पाएका थिए । विराटनगरमा कांग्रेस, एमाले र संघीय समाजवादी फोरमबीच प्रतिस्पर्धा भएको थियो । विराटनगरमा माओवादी केन्द्र र राप्रपा पनि प्रतिस्पर्धी दलका देखिएका थिए ।
विजयी पराजुलीले निर्वाचनको बेला थुप्रै प्रतिबद्धता जनाएका थिए । उनले विराटनगरलाई देशकै उत्कृष्ट नगर बनाउने गरि काम गर्ने बाचा गरेका थिए । विराटनगरमा फोहोरमैला व्यवस्थापनदेखि सुख्खा बन्दरगाह निर्माण गर्ने गरि पराजुलीले बाँडेका सपनाहरु अझै अलपत्र नै छन् । उनले महानगरलाई व्यवस्थित बनाउन आकासे पुलदेखि व्यवस्थित सुपथ बजार, व्यवस्थित बधशाला, केसलीया र सिंघिया खोलामा तटबन्धलगायतका सपना बाँडेका थिए । तर, उनले बाँडेका सपनाहरु आज पनि सपनामै छन् । निकै सिमित प्रतिबद्धता पुरा गरेको कारण पुराजुलीको नेतृत्वप्रति जनतामा निकै वितृष्णा देखिन्छ ।
महानगरमा कांग्रेस अलोकप्रिय बनेपनि आगामी चुनावमा भने मुख्यतः कांग्रेससहित एमाले, जसपा र माओवादीबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । यदि गठबन्धन बनाइएको खण्डमा गठबन्धन नै निर्णायक हुने धेरैको अनुमान छ ।
६. वीरगञ्ज महानगर
राष्ट्रिय स्तरका ठूला दललाई हराएर वीरगञ्जमा तत्कालिन संघीय समाजवादी फोरमका विजयकुमार सरावगी मेयरमा बाजी मार्न सफल भएका थिए । वीरगञ्जमा मुख्यतः तत्कालिन फोरम, कांग्रेस र तत्कालिन राजपाबीच प्रतिस्पर्धा भएको थियो । सरावगीले १९ हजार ३९३ मत ल्याउँदा कांग्रेसका अजयकुमार द्धिवेदीले १७ हजार १९७ र राजपाका राजेशमान सिंहले १२ हजार १६५ मत ल्याएका थिए । वीरगञ्जमा तत्कालिन लोकतान्त्रिक फोरम, एमाले र माओवादी सामान्य प्रतिस्पर्धीको रुपमा देखिएका थिए ।
मेयर सरावगीले चुनावी बेला बाँडेको अधिकांश आश्वासन अहिले अलपत्र छन् । सामान्य फोहोर व्यवस्थापनदेखि सडक व्यवस्थित बनाउनेलगायतका काम पनि वीरगञ्जमा पुरा हुन सकेका छैनन् । देशभरिका महानगरमध्ये वीरगञ्ज सबैभन्दा बढी भ्रष्टाचार र अनियमितता हुने महानगरमा पनि परेको छ । अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा वीरगञ्जका सबैभन्दा बढी उजुरी छन् ।
चुनावको मुखमै स्वयम् मेयर सरावगीले पार्टी परिवर्तन गरेका छन् । जसपाका मेयर सरावगी यसअघिको निर्वाचनमा महानगरको पाँचौ पार्टी बनेको एमालेमा प्रवेश गरेका छन् । उनी एमाले प्रवेश गरेलगत्तै महागरको तेस्रो प्रतिस्पर्धी बनेका राजेशमान सिंह पुर्व राजपाका नेता जसपा प्रवेश गरेका छन् । वीरगञ्जमा अनौठो तानातान चलेको छ ।
आगामी निर्वाचनको नतिजा तानातान र गठबन्धनको भरमा नै तय हुने देखिन्छ । अहिलेसम्मको राजनीतिक दृश्य हेर्दा वीरगञ्जमा जसपा, कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने सम्भावना छ । साना मानिएको अन्य दल मुख्य दललाई जिताउने वा हराउने भूमिकामा देखिने सम्भावना छ ।
वि.सं.२०७८ चैत १० बिहीवार १८:०४ मा प्रकाशित
























