बिरगञ्ज। पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकायले महत्वपुर्ण Conclave 2022 सम्पन्न गरेको छ । अध्ययन अध्यापनलाई कसरी समय सापेक्ष, व्यवहारिक तथा प्रयोगमुलक बनाउने भन्नेबारेमा विश्वविद्यालयको व्यवस्थापन संकायले सेमिनारको आयोजना गरेको हो ।
उक्त सेमिनारको पहिलो दिन दुई जना प्रतिष्ठित व्यवसायिक व्यक्तित्वहरु र अन्य बौद्धिक व्यक्तित्वहरुले महत्वपुर्ण प्रस्तुती राखेका थिए । जसमा गोल्यान ग्रुपका अध्यक्ष पवनकुमार गोल्यानले व्यवसायिक स्कुलले समाज तथा संगठनको रुपान्तरणमा सिर्जनात्मक व्यवसायिक भूमिका निर्वाह गर्नेबारेमा आफ्नो प्रस्तुती राखेका थिए । त्यस्तै पहिलो दिनकै सेमिनारमा विद्यार्थीलाई रोजगार प्राप्त गर्न सहयोग गर्ने सफ्ट स्किलको विषयमा नबिल बैंकका डेपुटी जनरल म्यानेजर मनोज ज्ञवालीले महत्वपुर्ण प्रस्तुती दिएका थिए ।

सेमिनारको दोस्रो दिन दोस्रो सेसनमा एरो फार्मेस्टिकलका महाप्रवन्धक पंकजकुमार तिवारीले पनि नेपालको बिजनेस स्कुल कस्तो हुनुपर्छ र कहाँ गल्ति भइरहेको छ र यसलाई विश्वस्तरको बिजनेस स्कुल बनाउन के गर्नुपर्छ भन्ने बारेमा महत्वपुर्ण प्रस्तुती प्रस्तुत गरेका थिए ।
त्यस्तै, सेमिनारको दोस्रो दिनको तेस्रो सेसनमा विश्वविद्यालयको उच्च शिक्षाको गुणस्तरको विषयमा Concern Of Central Campus In Supporting Quality Of Higher Education In the University को प्रस्तुती पुर्वाअञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका निर्देशक प्रशान्तकुमार लालले गरेका थिए । त्यस्तै सेमिनारको चौथो सेसनमा पुर्वाअञ्चल विश्वविद्यालय शिक्षक संघका अध्यक्ष डा. शन्देशदास श्रेष्ठले पुर्वाअञ्चल विश्वविद्यालयको ब्रान्डिङमा व्यवसायिक स्कुलको भूमिकाको विषयमा आफ्नो प्रस्तुती गरेका थिए ।

विश्वविद्यालयले आयोजना गरेको उक्त व्यवस्थापन संकायको सेमिनारमा देश तथा विदेशको आवश्यकता अनुसार व्यवस्थापन संकाय अन्तर्गत आगामी दिनहरुमा आवश्यक पर्ने पाठ्यक्रम र उक्त पाठ्यक्रमलाई कार्यान्वयन गर्न आवश्यक पर्ने नीति नियमहरु निर्माण गर्ने गराउने कुरामा छलफल गरिएको थियो । आगामी दिनहरुमा विद्यार्थीका दैनिक प्रगतिप्रति सिधै मुल्यांकन तथा अवलोकन गरी आवश्यक प्रकृया अगाडि बढाउने सम्बन्धि वृहत छलफलमा कलेज सञ्चालक, प्रिन्सिपलहरु लगायत अन्य विभागिय प्रमुखहरुको धारणा समेटिएको थियो ।
कार्यक्रममा बोल्ने क्रममा विश्वविद्यालयका रजिष्टार तथा परिक्षा समितिका अध्यक्ष निलमणी पोख्रेलले विश्वविद्यालयले कोभिड–१९ को बेलामा शैक्षिक कार्यक्रमहरुमा लागेको अवरोधहरुलाई छिटोभन्दा छिटो रुपमा समाधान गरी चुस्त दुरुस्त रुपमा अगाडि बढ्ने प्रतिवद्धता जायर गरेका थिए ।
परिक्षा नियन्त्रक प्राध्यापक मोहनबहादुर बस्नेतले आगामी दिनहरुमा बिद्यार्थीसँग सिधै जोडिएको परिक्षा र परिक्षाफललाई जतिसक्दो चाँडो र विवादरहित रुपमा बिद्यार्थीको हितमा हुनेगरी अगाडि बढ्ने कार्ययोजना निर्माणमा जुटिरहेको जानकारी गराए । साथै उक्त कार्यक्रममा बिरगञ्ज पब्लिक कलेजका कार्यकारी अध्यक्ष प्रा.डा. दीपकबहादुर शाक्यले समस्याको बीचमा रहेर समाधान कसरी र कहिले गर्ने भन्नेबारे सुझाव दिएका थिए ।

उक्त कार्यक्रममा कार्यक्रमको उद्देश्यबारे विश्वविद्यालय व्यवस्थापन संकायको डेपुटी डिन सोनिला शाक्यले प्रकाश पारेकी थिइन् । साथै विश्वविद्यालयले व्यवस्थापन संकाय अन्तर्गत आगामी दिनहरुमा ल्याउनुपर्ने नयाँ कार्यक्रम र पुराना कार्यक्रमलाई समायोजन गर्नेबारे विश्वविद्यालयका प्रा .डा. उक्तमकुमार रेग्मीले पनि कार्यपत्र प्रस्तुत गरेका थिए ।
यस्ता प्रकारका कार्यक्रमहरु आगामी दिनमा पनि गर्दै जानेकुरा विश्वविद्यालयका प्रतिनिधि एवं कुलपति प्रा.डा. यादवराज कोइरालाले संकाय डिनहरुलाई निर्देशन दिएका थिए ।
विश्वविद्यालयको उक्त सेमिनार विश्वविद्यालयका उपकुलपति प्र.डा. यादवराज कोइरालाको प्रमुख आतिथ्यतामा व्यवस्थापन संकायका डिन प्रा.डा. बिजुकुमार थपलियाको अध्यक्षतामा सम्पन्न गरिएको थियो । चैत ११ र १२ गते सञ्चालन गरेको सेमिनारमा पुर्वाअञ्चल विश्वविद्यालयका ४० वटा कलेजका व्यवस्थापन संकायका प्रतिनिधिहरु सहभागी भएका थिए ।

सेमिनारले विश्वविद्यालय अन्तर्गत वर्तमान अवस्थामा अध्ययन अध्यापन भइरहेको व्यवस्थापन संकायको अवस्था र आगामी दिनमा थप व्यवस्थित ढंगले अगाडि बढ्ने विषयमा छलफल गरेको सहभागी तथा हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्रिन्सिपल तोयानारायण पौडेलले बताए । बिरगञ्ज पब्लिक कलेज बिरगन्जको संयोजकत्वमा उक्त सेमिनार सम्पन्न गरेको हो । सेमिनारले उच्च शिक्षालाई आगामी दिनमा थप बैज्ञानिक एवं व्यवहारिक बनाउन महत्वपुर्ण भूमिका खेल्ने पौडेलको धारणा रहेको छ ।
वि.सं.२०७८ चैत १३ आइतवार १४:५७ मा प्रकाशित






























