काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले डीन आर थम्प्सनलाई नेपालका लागि अमेरिकी राजदूतमा सिफारिस गरेका छन् । मंगलबार बाइडेनले अमेरिकी कूटनीतिक सेवामा रहेका थोम्प्सनलाई नयाँ राजदूतका रूपमा प्रस्ताव गरेका हुन् ।
अमेरिकी सिनेटले नाम अनुमोदन गरेपछि थोम्प्सन नेपालका लागि राजदूतमा नियुक्त हुनेछन् ।
हाल र्यान्डी बेरी नेपालका लागि अमेरिकी राजदूतका रुपमा छन् । तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा नियुक्त बेरीले २०७५ साल कात्तिक ८ गते नेपालका लागि अमेरिकी राजदूतका रूपमा पदभार सम्हालेका थिए ।
सामान्यतयाः अमेरिकी राजदूतको कार्यकाल ३ वर्ष हुने गरे पनि बेरीको कार्यकाल एक वर्ष थप गरिएको थियो । नयाँ राजदूतका रूपमा थोम्प्सनको नियुक्तिसँगै बेरी फर्किनेछन् ।
को हुन् थोम्प्सन ?
प्रस्तावित थोम्प्सन अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ अधिकारी हुन् । उनी हाल विदेश मन्त्रालयको दक्षिण र मध्य एसिया मामिलासम्बन्धी प्रमुख उपसहायक सचिवको रूपमा काम गरिरहेका छन् ।
कूटनीतिज्ञका रूपमा उनले अमेरिकी विदेश मन्त्रालयका विभिन्न पदमा रही २५ वर्षभन्दा बढी सेवा गरिसकेका छन् । उनी सन् २०२० देखि सन् २०२१ सम्म कार्यबाहक सहायक सचिव थिए ।
त्यसअघि उनी क्वालालम्पुरस्थित अमेरिकी राजदूतावासमा ‘डेपुटी चिफ अफ मिसन’ का रूपमा कार्यरत थिए । त्यस्तै उनले रोमानियाका लागि अमेरिकी राजदूतावासमा डेपुटी चिफ अफ मिसनकै रूपमा जिम्मेवारी सम्हालेका थिए ।
थम्प्सन भारतको कोलकातास्थित अमेरिकी महावाणिज्य दूतावासमा महावाणिज्य दूतको रुपमा सेवा गरिसकेका छन् । अंग्रेजीबाहेक उनी रोमानियाली र बंगाली भाषामा दख्खल राख्छन् ।
वि.सं.२०७८ चैत १६ बुधवार १३:४५ मा प्रकाशित






























