काठमाडौं । पाँच दलीय गठबन्धनलाई जसरी पनि धक्का दिने योजनामा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओली राजावादी र हिन्दुवादी समूहपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहसँग पनि चुनावी तालमेलको छलफलमा जुटेका छन् । ओलीले राजावादी, हिन्दुवादी, मधेशवादीसहित विप्लवलाई समेटेर गठबन्धन बनाउने प्रयास थालेका हुन् । राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल ओलीले सघन रुपमै छलफललाई अगाडि बढाएका छन् ।
एमालेले कर्णाली र सुदूरपश्चिममा विप्लव समूहसँग चुनावी तालमेलको लागि छलफल अगाडि बढाएको छ । पटक–पटकको अनौपचारिक छलफल गरिरहेको एमालेले सोमबार औपचारिक रुपमै विप्लव समूहसँग चुनावी तालमेलबारे छलफल गरेको हो ।
विप्लव नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुनले प्रारम्भिक छलफल सकारात्मक भएको भन्दै छिट्टै निर्णायक छलफल गर्ने तयारी भएको बताए । उनका अनुसार तालमेलको विषयमा सहमति भएपनि तालमेल गर्ने आधारको विषयमा सहमति भइसकेको छैन ।
“हामीहरूलाई उहाँहरूले बसौँ छलफल गरौँ भनिरहनु भएको थियो। सोमबार एक चरणमा छलफल भयो । तालमेल के कसरी गर्न सकिन्छ भन्नेबारे कुराकानी भयो”, नेता पुनले भनेका छन्, “छिट्टै निर्णायक छलफल हुन्छ ।”
हालै सम्पन्न विप्लव नेकपाको केन्द्रीय समिति बैठकले चुनावलाई उपयोग गरेर जाने नीति पारित गरेको थियो । सोही नीतिअनुसार आफुँहरु छलफलमा जुटेको नेता पुनले जानकारी दिएका छन् ।
केन्द्रीय समिति बैठकमै भएको तालमेलकाे प्रस्ताव
विप्लव नेकपाको हालै बसेको केन्द्रीय समिति बैठकमा चुनाव उपयोगको पक्षमा उभिएका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आगामी चुनावमा एमालेसँग तालमेल गर्नुपर्ने प्रस्ताव गरेका थिए । तर, विप्लवकै प्रस्ताव अल्पमतमा परेका बेला उनको प्रस्ताव छलफलमै परेको थिएन ।
प्रकाण्डले पटक–पटक एमाले अध्यक्षसँगको छलफल गरेसँगै उक्त प्रस्ताव बैठकमा राखेका थिए । तर, चुनाव बहिस्कारकै पक्षमा बहुमत समूह देखिनु र चुनाव उपयोगको पक्षमा देखिएका केही नेताले माओवादी केन्द्रसँग सहकार्य गर्नुपर्ने प्रस्ताव गर्दा प्रकाण्डको प्रस्तावले अर्थ राखेको थिएन । बताइअनुसार सुदूरपश्चिममा प्रकाण्डको योजनामा छलफल भएको हो ।

दुवै राप्रपा र लोसपासँग एमाले छलफलमा
एमाले चुनावी तालमेलको लागि कमल थापासँग मात्रै होइन राजेन्द्र लिङदेनसँग पनि संवादमा छ । सत्ता गठबन्धनका पाँच दलले चुनावी तालमेलको विषयमा सहमति गरेकै दिन बिहीबार एमाले अध्यक्ष ओलीले नेपालगञ्जस्थित होटेल सोल्टीमा राप्रपाका महामन्त्री डा. धवलशमशेर राणासँग चुनावी तालमेलबारे भेटेरै छलफल गरेका थिए । उनले तीनै तहको चुनावमा सहकार्य गर्ने प्रस्ताव राणासँग गरेका थिए ।
नेपालगञ्जको छलफलसँगै एमाले र राप्रपाबीच सघन रुपमै छलफल अगाडि बढेको छ । राप्रपासँग छलफल बढाइरहेका बेला एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपालसँग पनि तालमेलको लागि छलफल बढाएको छ । एमाले अध्यक्ष ओली र राप्रपा नेपालका अध्यक्ष थापा आइतबार प्रत्यक्ष भेटघाटसहित छलफल भएको थियो ।
ओली र थापाबीचको छलफलसँगै दुवै पार्टीले चुनावी तालमेल गर्न वार्ता समिति नै बनाएको छ । एमालेको तर्फबाट देवेन्द्र दाहाल र राप्रपाको तर्फबाट महामन्त्री सुशील कुमार श्रेष्ठ नेतृत्वमा आइतबार वार्ता समिति गठन भएको थियो । जसले केन्द्रदेखि तल्लो तहसम्म चुनावी तालमेल गर्न निर्णायक काम गर्नेछ ।
यता, एमालेले तराई केन्द्रीत लोसपासँग पनि चुनावी तालमेलको लागि सघन रुपमै छलफललाई अगाडि बढाएको छ । यसबीचमा ओली स्वंयले लोसपा अध्यक्ष ठाकुरसँग प्रत्यक्ष छलफल पनि गरेका छन् । बताइएअनुसार ठाकुर कांग्रेससँग छलफलमा जुटेसँगै एमालेसँग तालमेल गर्ने विषय केही अलमलमा परेको थियो ।
सम्बन्धित समाचार
आन्तरिक रिपोर्टले ओली तनावमा, हिन्दु र राजावादीसँग गठबन्धन बनाउन थाले प्रयास
हिन्दुवादी र राजवादीसँग एमालेले चुनावी तालमेल गर्ने, बनायो वार्ता समिति
वि.सं.२०७८ चैत २२ मंगलवार १२:५१ मा प्रकाशित
























