काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रायः सार्वजनिक मञ्चबाट सत्ता गठबन्धन र गठबन्धनका नेताहरुको मानमर्दन गरिरहन्छन् । उनले एमालेको प्रतिस्पर्धी कांग्रेस मात्रै भएको भन्दै गठबन्धन आवद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी चुनावसँगै बिलाउने पनि टिप्पणी गरेका छन् । एक सार्वजनिक मञ्चबाट ओलीले “गठबन्धनका दलहरु किलो–किलोमा भएको भन्दै एमाले क्विन्टलमा भएको” पनि बताए ।
तर, आफुँ क्विन्टलमा भएको बताउने ओली पछिल्ला दिनमा भने आफ्नै तौलको हिसाबले तनावमा छन् । आफ्नै पार्टीभित्रबाट आगामी निर्वाचनमा ‘असाध्यै नराम्रो नतिजा आउने’ रिपोर्ट आएसँगै ओली तनावमा परेका हुन् ।
उच्च स्रोतले बताएअनुसार आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनबाट एमाले तेस्रो पोजिसनमा समेत आउन नसक्ने रिपोर्ट ओलीलाई आएको छ । गठबन्धन कायम भइरहे संघीय संसदमा एमाले चौथो दल बन्न सक्छ । आउँदै गरेको स्थानीय तह निर्वाचनमा सबै महानगर गुम्ने मात्रै होइन यसअघि जितेको अधिकांश स्थानीय तह पनि जोगाउन गाह्रो छ ।
२०७४ मा तीन चरणमा भएको निर्वाचनमा एमालेले ७५३ मध्ये २ महानगरसहित २९४ स्थानीय तह जितेको थियो । उपाध्यक्ष तथा उपप्रमुखमा ३३१ जना एमालेका उम्मेदवार विजयी भएका थिए । ६ हजार ७४३ मध्ये एमाले एक्लैले २ हजार ५६० वडाको नेतृत्व जितेको थियो । तर, एमाले केन्द्रलाई आएको रिपोर्ट आगामी स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये १२० पालिकामा पनि जित्न नसक्ने भन्ने छ ।
यता, गठबन्धन भत्काउन नसके प्रदेश तथा संघीय चुनावमा एमालेका अधिकांश प्रभावशाली नेता हार्ने रिपोर्ट छ । एमालेभित्र संघीय निर्वाचनमा ३० सिट पनि ल्याउन नसकिने आकंलन गरिएको छ ।
त्यस्तै समानुपातिकमा माधव नेपाल नेतृत्वको पार्टीले १/२ लाख मत काट्ने मानिएको बेला पछिल्लो रिपोर्टले भने १० लाखसम्म मत काट्ने अनुमान गरिएको छ । सुदूरपश्चिम र प्रदेश २ मा सबैभन्दा बढी क्षति हुने बताइएको छ । गण्डकी बाहेकका सबै प्रदेशमा ठूलो क्षति हुने अनुमान गरिएको छ ।
संघीय सरकारको नेतृत्वबाट बाहिरिएसँगै एमाले सबैजसो प्रदेशको नेतृत्वबाट पनि क्रमशः बाहिरिएको थियो । प्रदेश सरकारबाट बाहिरिएसँगै भएको राष्ट्रियसभाको निर्वाचनमा पनि गठबन्धन मिल्दा एमालेले १९ मध्ये १ सिट मात्रै जितेको थियो ।
आगामी निर्वाचनसँगै एमाले सबै प्रदेशमा सानो दलको रुपमा रुपान्तरित हुने अनुमान गरिएको छ । यता संघमा निकै सिट घट्ने हुँदा प्रतिपक्षीको ओजन पनि निकै कमजोर हुने अवस्था देखिन्छ ।

बेग्लै गठबन्धनको प्रयासमा ओली
आन्तरिक रिपोर्टसँगै आत्तिएका ओली बेग्लै चुनावी गठबन्धन निर्माणको प्रयासमा जुटेका छन् । ओलीले तराई केन्द्रीत लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राजवादी तथा हिन्दुवादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेलको तयारी गरेका छन् । बताइएअनुसार एमालेसहितको गठबन्धनमा रवीन्द्र मिश्र र सिके राउत पनि सहभागि हुने सम्भावना छ ।
ओलीले चुनावी तालमेलको विषयमा बिहीबार मात्रै राप्रपाका महामन्त्री डा. धवलशमशेर राणालाई भेटेका थिए । पाँचदलीय गठबन्धनविरुद्व बेग्लै गठबन्धन बनाउने तयारी स्वरुप उक्त भेटवार्ता भएको थियो । भेटवार्तामा पाँच दलीय गठबन्धनलाई चुनौति दिने गरि गठबन्धन निर्माणबारे छलफल भएको राप्रपा महामन्त्री राणाले बताएका छन् । उनले बताएअनुसार केही दिनमै छलफलले मूर्त रुपमा लिनेछ ।
वि.सं.२०७८ चैत १८ शुक्रवार १८:०७ मा प्रकाशित
























