४ फागुन,गुलरिया (बर्दिया) । स्थानीयवासी दामोदरप्रसाद अधिकारीले सहिद गोविन्द गौतमका परिवारलाई आज १२ धुर जग्गा प्रदान गर्नुभएको छ ।
कञ्चनपुरमा भारतीय एसएसबीको गोली लागेर सहादत पाउनुभएका गौतमको परिवारलाई नेपाली सेनाका पूर्व सुवेदार अधिकारीले नगद र जग्गा सहयोग गर्नुभएको हो ।
देशका लागि ज्यान अर्पण गर्ने सहिदका परिवारको सम्मानार्थ थोरै भए पनि आफूले पाउने निवृत्तिभरबापतको एक महिनाको तलब रु १५ हजार र जग्गा प्रदान गरिएको अधिकारीले बताउनुभयो ।
बाइसेविचवा गाविस–९ स्थित लालझाडी बजारमा रहेको सिटी प्लानिङमा दर्ता रहेको कित्ता नं ६५९ मध्येबाट १७५ वर्ग मिटर (१२ धुर) जग्गा दिइएको हो । प्रजिअ विष्णुबहादुर थापालाई जग्गाको लालपुर्जा र हस्तान्तरण गर्दै अधिकारीले भन्नुभयो, “सहिद गौतमले दिएको बलिदान अतुलनीय छ, यो बलिदानप्रति मेरो धेरै श्रद्धा जागेर आयो र मैले थोरै मात्र भए पनि सहयोग गरेको हुँ ।” रासस