टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको दशौँ साहित्यिक कृति ‘हिउँ फूल’ को आवरण सार्वजनिक गरिएको छ ।
भाद्र ५ गते परेको थापाको जन्मदिनका अवसरमा परिवारले उनलाई श्रद्धापूर्वक स्मरण गर्दै प्रकाशनको क्रममा रहेको ‘हिउँ फूल’को आवरण सार्वजनिक गरेको हो ।
अछामको पाटेखेतमा जन्मिएका थापाले कर्णाली र सुदूरपश्चिमको इतिहास, भाषा, साहित्य, संस्कृति तथा जनजीवनलाई आफ्ना सिर्जनामार्फत जीवन्त बनाउँदै आएका थिए। शिक्षक, सामाजसेवी तथा साहित्यकारका रूपमा परिचित थापा सामाजिक तथा पर्यावरण संरक्षणका अभियन्ता एवं लोकतान्त्रिक आन्दोलनका संवाहकसमेत थिए ।
समाज र साहित्य क्षेत्रमा स्वर्गीय थापाले पु¥याएको योगदान सदैव स्मरणीय रहने उनका छोरा हिक्मत थापाले बताए ।
उनले आफ्ना पिताका साहित्यिक कृतिहरूले कर्णाली र सुदूरपश्चिमको भाषा, संस्कृति, इतिहास र जनजीवनलाई पुस्तौँसम्म उजागर गरिरहने विश्वास व्यक्त गरे ।
थापाका प्रकाशित साहित्यिक कृतिहरूले आफ्नो माटो, भाषा, संस्कृति र जनजीवनप्रतिको गहिरो प्रेमलाई उजागर गरेका छन् ।
उनका कृतिहरू साहित्यिक दृष्टिले महत्वपूर्ण हुनुका साथै कर्णाली र सुदूरपश्चिमको सामाजिक तथा सांस्कृतिक पहिचानलाई अभिलेखित गर्ने महत्वपूर्ण दस्तावेजका रूपमा रहेको जनाइएको छ। थापाका यसअघि सोह्र सौगात, कर्णालीको छेउछाउ, पुर्खाको चिट्ठी, मेरो मधुशाला, उज्ज्वली, मरुभूमिकि महारानी, अस्ताचलको ढोकाबाट, मेरो गाउँको खडक्या मन्त्री र महाप्रलय गरि नौ वटा पुस्तक प्रकाशित भइ सकेका छन् ।
प्रकाशनको तयारीमा रहेको ‘हिउँ फूल’ थापाको दशौँ साहित्यिक कृति हो । उक्त कृति छिट्टै पाठकमाझ आउने जनाइएको छ ।
७८औँ जन्मदिनको अवसरमा स्वर्गीय थापाप्रति श्रद्धासुमन अर्पण गर्दै उनका योगदान, साहित्यिक कृति र सिर्जनाहरू सधैँ स्मरणीय तथा अमर रहने विश्वास व्यक्त गरिएको छ ।
वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४९ मा प्रकाशित






























