ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरेको भन्दै आफ्ना तीन प्रदेश सभा सदस्यलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।
पार्टीका महासचिव डा सुरेन्द्र कुमार झाले हस्ताक्षर गरेको पत्रमार्फत रुपन्देही निर्वाचन क्षेत्र नं ३(१) का प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेय, लुम्बिनी प्रदेश सभा सदस्य हेमा वेल्वासे (केसी) र बाँके निर्वाचन क्षेत्र नं। २(१) का प्रदेश सभा सदस्य भण्डारी लाल अहिरलाई पुनः स्पष्टीकरण मागिएको हो।
जसपाले यसअघि नै लुम्बिनी प्रदेशको वर्तमान सरकारलाई समर्थन नगर्न तथा सरकारको विपक्षमा मतदान गर्न पार्टी निर्देशन जारी गरेको जनाएको छ। उक्त निर्देशनविपरीत तीन सांसदले सरकारको पक्षमा मतदान गरेको पार्टीको भनाइ छ।
यस विषयमा सांसदहरूले यसअघि दिएको स्पष्टीकरण अध्ययन गर्दा पार्टीको नीति, निर्णय तथा निर्देशनसँग मेल नखाने र उठाइएका प्रश्नको चित्तबुझ्दो जवाफ नआएको पार्टीले जनाएको छ।
पार्टीले पुनः स्पष्टीकरणमा तीन प्रश्नको स्पष्ट जवाफ मागेको छ। पार्टी निर्देशनविपरीत मतदान गरेको विषयमा अनुशासनात्मक कारबाही किन नगर्ने, पार्टीको नीति तथा निर्देशनविपरीत सदस्यले काम गर्न मिल्ने वा नमिल्ने र पार्टी विधान तथा प्रचलित निर्णयअनुसार उक्त कार्यलाई कसरी लिनुपर्ने हो भन्ने विषयमा धारणा मागिएको छ।
जसपाले २४ घण्टाभित्र केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा पुनः स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। तोकिएको समयभित्र स्पष्टीकरण नदिएमा वा स्पष्टीकरण चित्तबुझ्दो नभएमा पार्टी विधान तथा प्रचलित निर्णयबमोजिम आवश्यक अनुशासनात्मक कारबाही अघि बढाउने चेतावनीसमेत दिइएको छ।
पार्टीको नीति, निर्णय तथा निर्देशन पालना गर्नु प्रत्येक पार्टी सदस्यको अनिवार्य दायित्व रहेको जसपाले पत्रमार्फत स्मरण गराएको छ।
वि.सं.२०८३ भदौ ९ मंगलवार १५:२६ मा प्रकाशित






























