काठमाडौं । सत्तारुढ गठबन्धन दलको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बस्दैछ ।
समितिका संयोजक नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको अध्यक्षतामा आज दिउँसो ४ बजे बस्ने उक्त बैठकमा बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनको चुनावी ढाँचाका विषयमा छलफल हुने बताइएको छ ।
गठबन्धनका शीर्ष नेताको बैठकले यसअघि प्रदेश, जिल्ला र पालिका तहमा पाँचदलीय प्रतिनिधि रहने संयन्त्र बनाउने निर्णय गरे अनुरुप जिल्ला तहबाट आएका प्रतिवेदनहरुको समितिले अध्ययन तथा विश्लेषण गरेपछि चुनावी ढाँचा तयारी गरिने बताइएको छ ।
यसअघि चैत २२ गते बसेको गठबन्धनको बैठकले कांग्रेसका वरिष्ठ नेता पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको थियो । उक्त समितिमा कांग्रेसका गगन थापा, ज्ञानेन्द्र बहादुर कार्की, माओवादीका देव गुरुङ र वर्षमान पुन, समाजवादीका वेदुराम भुसाल र विजय पौडेल, जसपाका अशोक राई र रेनु यादव तथा राष्ट्रिय जनमोर्चाका हिमलाल पुरी सदस्य रहेका छन् ।
उक्त समितिको चैत २३ गते बसेको पहिलो बैठकले चुनावी ढाँचाबारे प्रारम्भिक छलफल गरेको थियो ।
वि.सं.२०७८ चैत २७ आइतवार १०:४३ मा प्रकाशित






























