back
CTIZAN AD

नवौँ राष्ट्रिय खेलकुद आगामी जेठ २२ देखि २७ सम्म पोखरामा हुने

वि.सं.२०७९ वैशाख १ बिहीवार

636 

shares

१ वैशाख, काठमाडौँ । कोरोना महामारीका कारण रोकिएको नवौँ राष्ट्रिय खेलकूद आगामी जेठ २२ देखि २७ गतेसम्म हुने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा आयोजना गर्ने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले जानकारी दिए ।

प्रत्येक दुई वर्षमा आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुदको नवौँ संस्करण २०७७ मा आयोजना गर्नुपर्ने थियो । विश्वव्यापीरूपमा फैलिएको कोभिड सङ्क्रमणका कारण खेलकुद स्थगित भएको थियो । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठमा आयोजना गर्न खेलकुद मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो ।

वर्तमान सरकार गठनलगत्तै सरकारले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्राथमिकतामा राखेको थियो । मन्त्री गहतराजले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै प्रतियोगिताको आयोजना गर्न पलह गरेको बताए । “मैले मन्त्रालयको जिम्मा लिएपछि नै कोरोनाका कारण हुन नसकेको राष्ट्रिय खेलकुद आयोजना गर्न पहल गरिरहेको थिएँ”, उनले भने, “समग्र परिस्थितिको विश्लेषण गरेर सरकारले जेठको अन्तिम साता प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको हो ।”

जेठमा प्रतियोगिताको आयोजना नगरे निर्वाचनका कारण फेरि केही समय धकेलिने भएका कारण समयको चाप हुँदाहुँदै पनि खेलकुद आयोजना गरिएको उनको भनाइ छ । “वैशाखको ३० गते स्थानीय निर्वाचन हुँदैछ, आगामी मङ्सिरमा सङ्घ र प्रदेशको चुनाव गर्नुपर्नेछ, वर्षात्को समयमा खेलकुद आयोजना गर्न प्राविधिक कारणले कठिनाइ छ”, उनले भने, “त्यसकारण आगामी जेठमा प्रतियोगिताको आयोजना गरिएको हो ।”

नवौँ राष्ट्रिय खेलकुदका अधिकांश प्रतियोगिता पोखरामा सञ्चालन हुनेछन् । खेल पूर्वाधारको अभावका कारण केही खेल राजधानीमा पनि हुनसक्ने उनको भनाइ छ । राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि आवश्यक पूर्वाधारको निर्माण छिट्टै सम्पन्न हुने पनि उनले विश्वास व्यक्त गरे ।

मन्त्री गहतराजले नवौँ राष्ट्रिय खेलकुदलाई मध्यनजर राख्दै दुई पटक पोखरा पुगेर पूर्वाधार निर्माणको अनुगमन गरेका थिए । राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन भएपछि खेल क्षेत्र चलायमान हुने र अन्तर्राष्ट्रिय विश्वसनीयता पनि प्राप्त हुने उहाँले विश्वास व्यक्त गरे ।

वि.सं.२०७९ वैशाख १ बिहीवार १०:५२ मा प्रकाशित