काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत ‘मन मान्दै मानेन’ सार्वजनिक गरिएको छ । विहीबार एक कार्यक्रमबीच चलचित्र ‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक भएको हो ।
चलचित्र ‘गुरु आमा’को नयाँ गीत ‘मन मान्दै मानेन’ सार्वजनिक भएको छ । गायिका समीक्षा अधिकारीको स्वरमा रहेको उक्त गीत सार्वजनिक भएको केही घण्टामै दर्शकको ध्यान खिच्न सफल भएको हो ।
प्रेम सोनी सुनारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा शब्द, संगीत तथा एरेन्ज बीबी अनुरागीले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन् । ‘मन मान्दै मानेन’ भावनात्मक तथा करुणा रसमा आधारित गीतका रूपमा प्रस्तुत गरिएको छ ।
गीतको भिडियोमा मिथिला शर्मा मुख्य रूपमा देखिएकी छन् । चलचित्रमा बुद्धि तामाङ, सुशील पोखरेल, धुर्व कोइराला, टिकासानु, उत्तम केसी, सुष्मा थापा लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्र ‘गुरु आमा’को कथा तथा निर्देशन स्वयं प्रेम सोनी सुनारले गरेका हुन् भने निर्माण सीता विश्वकर्मा र प्रेम सोनी सुनारले गरेका छन् । सुशील पंगेनीको लेखन रहेको चलचित्रमा छायांकन नवराज खड्काले गरेका छन् ।
नयाँ गीत सार्वजनिकसँगै ‘गुरु आमा’ चलचित्रप्रति दर्शकको उत्सुकता अझ बढ्ने अपेक्षा गरिएको छ । गीतले पारिवारिक भावना र सम्बन्धका संवेदनशील पक्षलाई उजागर गर्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ ।
निर्माता सुनारका अनुसार ‘गूरु आमा’ आगामी वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ । उनले सार्वजनिक गरिएको गीत चलचित्रको सानो अंश मात्र भएको उल्लेख गर्दै सम्पूर्ण चलचित्रले दर्शकलाई थप मनोरञ्जन र सन्देश दिने दाबी गरे।
वि.सं.२०८३ वैशाख १० बिहीवार २२:११ मा प्रकाशित


























