२ वैशाख, काठमाडौँ । नेपाल सरकारबाट सशस्त्र प्रहरी बल, नेपाल महिला संघकी अध्यक्ष सरिता कँडेल खनाल छैंठौं संविधान दिवसको अवसरमा प्रवल जनसेवाश्री पदकले विभूषित भएकी छिन ।
उनले सामाजिक सेवा मार्फत समाज रुपान्तरण र समाजिक पुँजी निर्माणको कार्यमा लामो समयदेखि सक्रिय रुपमा भूमिका निर्वाह गर्दै आएकी थिइन् । सानै उमेरदेखि समाज सेवाको कार्यमा रुची राख्ने कँडेललाई उक्त कार्य गर्न समाजसेवी बुवाको उत्प्रेरणाबाट हौसला मिलेकोमा सशस्त्र प्रहरी बल, नेपाल महिला संघको अध्यक्षको जिम्मेवारी पश्चात उक्त कार्यका लागि नेतृत्वदायी भूमिका खेल्ने अवसर मिल्यो ।
सशस्त्र प्रहरी बल, नेपालको महिला संघमा आबद्ध भए पश्चात नै परम्परागत सोचबाट माथि उठी संघलाई रुपान्तरण गर्ने, महिलाहरुको पक्षमा कार्य गर्ने, राष्ट्रसेवक कर्मचारीहरुका परिवार लगायतलाई हौसला अभिवृद्धि गर्ने कार्यको सुरुवात पश्चात समाज सेवाको कार्यले मूर्तता पाउँदै गयो । बृक्षारोपण, बागमती नदि सरसफाई महाअभियान, विभिन्न समाजिक जनचेतनामूलक कार्यहरु, धर्म संस्कृति र रितिरिवाजको जगेर्ना, प्राकृतिक विपत्ती तथा प्रकोपहरुमा मानवीय सहायता, रक्तदान, नेपाल एपिएफ अस्पतालको स्तरोन्नतिको लागि विपन्न महिलाहरुमा हुने क्यान्सर जस्तो भयानक रोगको स्क्रिनिङ र उपचारका लागि गाईनोकोलोजी क्लिनिकको स्थापना मार्फत उपचारको सुरुवातमा उनको नेतृत्वदायी भूमिका रहेको थियो ।

सो बाहेक देशको दुरदराजमा बसोबास गरिरहेका शिक्षाको ज्योतीबाट बञ्चित विपन्न वर्गका जेहन्दार तथा असहाय छात्राहरुलाई छात्रबृत्ति प्रदान, पुस्तकालय निर्माणमा सहयोग, देशका विभिन्न स्थानहरुमा स्वास्थ्य शिविर संचालन, सशस्त्र प्रहरी कर्मचारीहरुका परिवारहरुलाई शीपमूलक तालिम गराई आत्मनिर्भर गराउन सहयोग, विभिन्न बुद्धाश्रमहरुमा रहेका बृद्ध बुबा/आमाहरुलाई खाद्यान्न तथा लत्ताकपडा प्रदान एवं मानवसेवा आश्रममा रहेका अनाथ बालबालिकाहरुलाई आर्थिक सहयोग मार्फत देशको समाजिक पुँजी निर्माणको कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेकी थिइन । उनले यसरी विभिन्न क्षेत्रमा पुर्याएको अन्य योगदानहरु सहितको कदर गर्दै नेपाल सरकारबाट प्रवल जनसेवाश्री पदकबाट विभूषित भएकी हुन।
वि.सं.२०७९ वैशाख २ शुक्रवार १३:३८ मा प्रकाशित






























