काठमाडौं । नेकपा (एमाले)ले दुई फरक ध्रुवका धार्मिक साना दल राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । बुधबार एमालेले औपचारिक रुपमै दुई दलसँग तालमेल गर्ने निर्णय गरेको हो ।
तालमेलको निर्णयअनुसार आगामी चुनावमा राप्रपा नेपाल र परिवार दलका उम्मेदवारले एमालेकै सूर्य चुनाव चिन्हबाट चुनाव लड्नेछन् । एमालेले पाँच दलीय सत्ता गठबन्धनलाई धक्का दिने योजनाअनुसार दुई दलसँग तालमेलको निर्णय गरेको हो ।
तीन दलबीच देशभरिका स्थानीय तहमा आपसी सहमति गरेर उम्मेदवार उठाउने निर्णय भएको छ । राप्रपा र परिवार दलले आफ्नो उम्मेदवार नभएका सबै ठाउँमा एमालेका उम्मेदवारलाई सघाउने छन् ।
तालमेलले एमालेलाई कति फाइदा ?
एमालेले आगामी स्थानीय तहको चुनावमा साना दलसँग चुनावी गठबन्धन बनाएर यसअघिकै अवस्था कायम गर्ने रणनीति लिएको छ । मुख्यतः तीन महानगरपालिका र ७ उपमहानगरमा आफुलाई पुरानै अवस्थामा फर्काउने योजना एमालेको छ । एमालेको बुझाई साना दलसँग सहकार्य गर्दा पनि ती स्थानीय तहमा सत्ता गठबन्धनसँग चुनावी प्रतिस्पर्धा गर्न सजिलो हुन्छ ।
काठमाडौं र पोखरासहित भरपुर महानगरमा एमाले बलियो अवस्थामा छ । ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेले काठमाडौं महानगर र पोखरामा निकै फराकिलो मतान्तरले जितेको थियो ।
तर, एमालेसँग गठबन्धनमा रहेका दुवै दलको अवस्था भने निकै कमजोर छ । दुवै दलको कहीँ पनि जनमत राम्रो खालको देखिन्न ।
राप्रपा अध्यक्षमा पराजित भएपछि राप्रपा नेपाल गठन गरेका कमल थापाको पार्टीको जनमत कति छ भन्ने देखिएको छैन । तथापी एकीकृत राप्रपा हुँदा नै कमजोर अवस्थामा भएका कमल थापा फुटपछि बलियो भएका छन् भन्ने आकंलन सही हुँदैन । थापाको हेटौंडालगायतका क्षेत्रमा बलियो मत रहेको बताइन्छ । तर, पार्टी विभाजनसँगै हेटौंडामा पनि राप्रपा विभाजित भएको छ ।
यसअघिको निर्वाचनमा काठमाडौं र चितवनसहित पूर्वी तराई र धरान क्षेत्रमा राप्रपाको बलियो मत देखिएको थियो । तर, राप्रपाबाट अलग भएसँगै उक्त क्षेत्रमा कमल थापाको संगठन बन्न सकेको छैन ।
अर्कोतर्फ, परिवार दलसँगको तालमेलले पनि एमालेलाई खास फाइदा हुने देखिएको छैन । क्रिश्चिनय समुदायको प्रतिनिधित्व गर्ने परिवार दलसँग जनआधार नगन्य अवस्थामा छ । तत्कालिन नेकपासँग समाहित भएको कारण पनि परिवार दल पुरानै अवस्थामा छैन । निकै कमजोर परिवार दलको सहयोगले एमालेले चुनाव जित्ने विषय अर्थहिन नै हुने देखिन्छ । तथापी एमालेलाई धेरै दलको प्रतिनिधित्व देखाउन भने गठबन्धनको फाइदा हुनेछ ।
लोसपा र विप्लवसँग तालमेल गरे हुनसक्छ फाइदा
राप्रपा र परिवार दलसँगसँगै एमालेले थप अन्य साना दलसँग पनि तालमेलको तयारी गरिरहेको छ । एमालेले मधेश केन्द्रीत लोकतान्त्रिक समाजवादी पार्टी र हालै सशस्त्र आन्दोलनबाट आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग पनि छलफललाई अगाडि बढाइरहेको छ । एमालेका शीर्ष नेताहरुले बताएअनुसार मधेशमा लोसपासँग सुदूरपश्चिम र कर्णालीमा विप्लव समूहसँग तालमेल हुनसक्ने सम्भावना छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओली र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच चुनाव तालमेलको विषयमा पटक–पटक छलफल भएका छन् । यसबीच एमालेले विप्लव नेकपाका नेताहरुसँग पनि औपचारिक रुपमै छलफल गरिरहेको छ । मधेश प्रदेशमा बलियो देखिएको लोसपा र सुदूरपश्चिम र कर्णालीमा बलियो देखिएको विप्लव नेकपासँग तालमेल गर्न सके एमालेलाई फाइदा हुने देखिन्छ । तथापी, यी दुवै दलभित्र पनि एमालेसँग तालमेलको विषय विवादमै छ ।
सम्बन्धित समाचार
वि.सं.२०७९ वैशाख २ शुक्रवार १३:१९ मा प्रकाशित
























