काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको उक्त पार्टीले शिक्षा, स्वास्थ्य, खानेपानी, कर, कृषि लगायतका क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ ।
उक्त घोषणापत्र अनुसार शिक्षा क्षेत्रमा १२ कक्षासम्म निःशुल्क शिक्षा, सबै विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षा लगायतका रहेका छन् भने स्वास्थ्य क्षेत्रमा सबै नागरिकलाई अनिवार्य तथा निःशुल्क स्वास्थ्य विमा, प्रत्येक वडामा निःशुल्क स्वास्थ्य सेवा तथा सुत्केरीलाई तीन महिनासम्म ३ हजार मासिक भत्ता, प्रत्येक किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने लगायतका रहेका छन् ।
त्यस्तै कृषिमा एक वडा एक उत्पादनको अवधारणालाई प्राथमिकता, सामुहिक खेती गर्ने तथा किसानको उपज बेच्ने सहकारीलाई अनुदान, किसानको खेत–खेतमा बिजुली तथा गाइभैसीलाई सुत्केरी भत्ता दिइने घोषणापत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै चारवर्षभित्रमा सबै घरधुरीमा खानेपानी, तराईमा आर्सेनिकमुक्त खानेपानीको व्यवस्था, एक घर एक धारा लगायत रहेका छन् भने स्थानीय करको दर परिमार्जन गरी ५० प्रतिशत सम्म स्थानीय कर कटौती तथा महिलाद्धारा संचालित साना तथा लघु उद्योग व्यवसायमा १२ वर्षसम्म स्थानीय करछुट गरिने समेत घोषणापत्रमा उल्लेख रहेको छ ।
यस्तो छ पूर्ण घोषणापत्र
वि.सं.२०७९ वैशाख ७ बुधवार १७:०२ मा प्रकाशित






























