काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा निरन्तर चुनावी अभियानमा छन् । उनी उपमहानगर र महानगर केन्द्रीत गठबन्धनका चुनावी आमसभाहरु व्यस्त छन् । देउवा गठबन्धनका उम्मेदवारहरुलाई जिताउन देश दौडाहा निस्किरहेका बेला उनकै गृहजिल्ला डडेल्धुरामा भने आफ्नै पार्टीका उम्मेदवार सकसमा परेका छन् ।
देउवाको गृहजिल्ला डडेल्धुरामा एकातिर उम्मेदवार छनोटकै विषयमा विवाद हुँदा कांग्रेस विभाजित भएको छ भने अर्कोतिर गठबन्धनका दलहरुबीच चुनावी तालमेल छैन । देउवा पत्नीका आरजु राणाको चुनावी अभियानले पनि डडेल्धुरामा कांग्रेसभित्र थप विवाद देखिएको छ । आरजुले दिएको विवादास्पद टिप्पणीले कांग्रेसभित्र ठूलो मतभेद सिर्जना गराएको हो । उनले आफुँले सिफारिस गरेका उम्मेदवारलाई नजिताए बजेट नपठाउने भन्दै धम्क्याएकी थिइन् ।
०७४ मा भएको निर्वाचनमा पनि देउवाको गृहनगर अमरगढी नगरपालिकामा एमालेका उम्मेदवारले जित हात पारेका थिए । तत्कालिन समय दुई सातासम्म देउवा आफ्नो क्षेत्रमा चुनावी अभियानमा खटिएको भएपनि नतिजा कांग्रेसको पक्षमा आउन सकेको थिएन । जुन अवस्था अहिले पार्टी विभाजनसँगै थप जटिल बनेको स्थानीय नेताहरु बताउँछन् । डडेल्धुरामा उम्मेदवार छनोटप्रति असन्तुष्ट निवर्तमान कांग्रेस जिल्ला सभापति कर्ण मल्ल नेपाली कांग्रेस (विपी) ब्यूँताएर चुनावी अभियानमा छन् ।
यता, गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि आफ्नै गृहजिल्ला चितवनमा आफ्नै उम्मेदवारलाई जिताउन सकस पर्ने देखिएको छ । गठबन्धनको सहयोगमा आफ्नै छोरी रेनु दाहाललाई भरतपुर महानगरको मेयरमा उठाएको भएपनि गठबन्धनको मुख्य दल कांग्रेसभित्रको विवादले सकस पर्ने देखिएको हो । असन्तुष्ट समूहले नेता जगन्नाथ पौडेललाई बागी उम्मेदवारको रुपमा भरतपुरमा उठाएका छन् ।
यसअघिको निर्वाचनमा पनि भरतपुरमा माओवादीले कांग्रेसको सहयोगमा चुनाव जितको थियो । तर, प्रतिस्पर्धा सजिलो थिएन । ५ वर्षे कार्यकालमा रेनुले केही मत बढाउन सफल भएको मानिएपनि कांग्रेसभित्रको विवादले चुनाव जित्न सजिलो देखिन्न ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा पनि चुनावी प्रतिस्पर्धा कडा हुने देखिन्छ । गठबन्धन दलहरूबीच तालमेल हुन नसकेको कारण आफ्नै गृहजिल्लामा एकीकृत समाजवादीलाई स्थापित गराउन माधव नेपाललाई सकस छ ।
०७४ मा भएको निर्वाचनमा पनि नेता नेपालकै गृहनगर चन्द्रपुर नगरपालिकामा एमाले पराजित भएको थियो । एमालेलाई कांग्रेसका उम्मेदवारले हराएका थिए । एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीलाई उक्त पालिकामा एक्लै लड्दा थप सकस हुने अनुमान गरिएको छ ।
यता, गठबन्धनको अर्को दल जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पनि आफ्नो निर्वाचन क्षेत्र राजविराजमा पार्टीका उम्मेदवारलाई जिताउन सकस हुने देखिएको छ । यादवको क्षेत्र राजविराजमा गठबन्धनबीच तालमेल हुन सकेन । लोसपाको प्रभाव क्षेत्रको रुपमा रहेको राजविराजमा अहिले सबैजसो दल एक्लाएक्लै चुनावी मैदानमा छन् । जसको कारण पनि यादवलाई आफ्नै उम्मेदवारलाई जिताउन सकस पर्ने देखिएको हो । तथापी, यादव गठबन्धनका कार्यक्रम छाडेर आफ्नै क्षेत्रमा केन्द्रीत छन् ।
यता, मुलुकको सबैभन्दा ठूलो दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पनि आफ्नै गृहनगर दमकमा एमालेका उम्मेदवारलाई जिताउन सकस पर्ने देखिएको छ । एमालेलाई हराउनकै निम्ति देशैभरि तालमेल नगरेको पाँच दलीय गठबन्धनले र दमकमा राप्रपालाई सघाएको छ । राप्रपाका उम्मेदवारको पक्षमा दमकका सबै दल लागेसँगै ओलीलाई आफ्नै उम्मेदवारलाई जिताउन सकस पर्ने देखिन्छ । ०७४ मा भएको निर्वाचनमा एमालेले जितेको भएपनि दमकमा निकै कडा प्रतिस्पर्धा भएको थियो ।
वि.सं.२०७९ वैशाख २५ आइतवार १७:३९ मा प्रकाशित






























