
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई केही दिनदेखि आफ्नो चुनावी क्षेत्र पालुङटारमा छन् । जसपाका उम्मेदवारलाई जिताउन भट्टराई घरदैलो अभियानमा कस्सिएर लागेका छन् । तर, भट्टराई घरदैलो अभियानमा कस्सिएर लागेपनि जसपाका उम्मेदवारलाई जित्न भने पालुङटारमा निकै सकस देखिएको छ । पालुङटारमा अहिले दलहरुबीच निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
भट्टराई आफ्नो क्षेत्रमा कहिले एमालेसँग त कहिले गठबन्धनका दलहरुसँग चुनावी तालमेलको प्रयासमा जुटेका थिए । तर, उनको योजनाअनुसार चुनावी तालमेल हुन सकेन । एकातिर एमालेले उनलाई विश्वास गरेन भने अर्कोतिर कांग्रेस आफ्नै अडानमा देखियो । जसको कारण उनको क्षेत्रमा दलहरु एक्लाएक्लै लड्ने अवस्था बन्यो ।
भट्टराईलाई चुनावी तालमेल नहुनु मात्रै सकसको विषय बनेन गोरखामै जसपाभित्र देखिएको विभाजन पनि कारण बनेर आएको देखिन्छ । गोखरामा उम्मेदवार छनोटको विषयमा जसपाभित्र निकै ठूलो रडाको मच्चिएको थियो । उम्मेदवार छनोटलाई लिएर जसपाभित्र आन्तरिक झडपसमेत भएको थियो । जसपाभित्रको आन्तरिक मनमुटाव अहिले चुनावी अभियानमा समेत देखिएको स्थानीय बताउँछन् ।
पालुङटारमै जसपा तेस्रो बनेको थियो
०७४ मा भएको स्थानीय तहको निर्वाचनमा बाबुराम भट्टराईको गृहनगर पालुङटारमा जसपा (तत्कालिन नयाँ शक्ति) तेस्रो बनेको थियो । जहाँ कांग्रेस र माओवादी केन्द्रबीच मुख्य प्रतिस्पर्धा भएको थियो ।
०७४ मा भएको निर्वाचनमा कांग्रेसका दीपकबाबु कँडेल ४ हजार ६९८ मतसहित विजयी भएका थिए । उनले माओवादी केन्द्रका विवश चिन्तनले भन्दा जम्मा २ सय ७ मत बढी ल्याएका थिए । जहाँ नयाँ शक्तिका उम्मेदवारले ३ हजार ९८० मत पाउँदै तेस्रो बनेका थिए । पालुङटारको उपमेयरमा भने माओवादी केन्द्रले जितेको थियो ।
तत्कालिन समयको चुनावी अवस्थालाई हेर्दा जसपाको मतमा खासै बृद्धि भएको देखिन्न । अहिले जसपाभित्रको विवादले थप मत घटाउने अवस्था बनेको धेरैको बुझाई छ ।
तालमेलकाे सहमति ताेडिएसँगै जसपालाई सकस
गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा कांग्रेस र जसपाबीच तालमेलको सहमति भएको थियो । तर, सहमति अन्तिम समय ताेडियाे । जसको असर चुनावी अभियानमा समेत परेको स्थानीयहरू बताउँछन् ।
तत्कालिन समय भएको सहमतिअनुसार जसपाले उपमेयरबाट समेत उम्मेदवारी फिर्ता लिएकाे थियाे । पालुङटारमा जसपाको तर्फबाट मेयरमा मात्रै उम्मेदवारी परेको छ । जसपाले प्रेमबहादुर गुरुङलाई मेयरमा अगाडि सारेकाे छ । जसपाले सहमति नभएसँगै पालिकाका सबै वडामा भने उम्मेदवारी दिएकाे छ ।