सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिका-२ मा नेकपा (एमाले) प्यानलसहित विजयी भएको छ । भर्खरै प्राप्त परिणाम अनुसार १२० मतको अन्तरले एमालेका जाहिर हुसेन वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनले ४६८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का मधुकरप्रसाद चौधरीले ३४८ मत प्राप्त गरेका छन् । सप्तकोसी नगरपालिकामा कूल १५ हजार ४२१ मत खसेको छ । वडा नं २ मा जम्मा एक हजार २४७ मत खसेको थियो ।
खुला सदस्यमा एमालेका रवीन्द्रनाथ चौधरी र नवराज अधिकारी तथा महिला सदस्यमा पानोकुमारी राजधानी र दलित महिला सदस्यमा रामसतीदेवी राम विजयी भएकी छन् । उक्त वडामा एमाले, कांग्रेस, माओवादी र राप्रपाका उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । सप्तकोसी नगरपालिका–१ मा एमालेलाई पराजित गरी कांग्रेसले प्यानलसहित जित हासिल गरेको थियो ।
वि.सं.२०७९ जेठ १ आइतवार १७:४० मा प्रकाशित






























