ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की मञ्जली शाक्यको अग्रता कायम छ ।
पछिल्लो विवरणअनुसार, कांग्रेसका उम्मेदवार महर्जनले चार हजार ३१२ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले दुई हजार ३८ मत प्राप्त गरेका छन्। उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले एक हजार ८८६ मत र नेकपा (माओवादी केन्द्र)का बाबुराजा बज्राचार्यले एक हजार ३१७ मत प्राप्त गरेका छन् ।
महानगरपालिकामा २९ वडा रहेकामा हालसम्म एउटा वडाको मात्रै परिणाम आएको छ । शनिबार मध्याह्न १२ बजे मतगणना सुरु भएको थियो । हाल २, ३ र ४ वडा तीन ठाउँमा गणना भइरहेको छ ।
वडा नम्बर १ अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी भएका छन् । उनले ६६१ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धु्रव तण्डुकारले ४२५ मत प्राप्त गरेका थिए।
वि.सं.२०७९ जेठ २ सोमवार ०९:५६ मा प्रकाशित






























