
मंगलबारे । जिल्लाको माङसेबुङ गाउँपालिकामा अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार हेमन्त राई विजयी भएका छन् । राई ३ हजार ८१८ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोले ३ हजार ४९५ मत प्राप्त गरेको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिए । मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमकुमार केरुङले १४ मत मात्र प्राप्त गरेका छन् ।
इदिङ्गो निवर्तमान गाउँपालिका अध्यक्ष हुन् । २०७४ को स्थानीय तह सदस्य निर्वाचनमा राईलाई नै पराजित गर्दै इदिङ्गो अध्यक्षमा विजयी भएका थिए । यसपटक भने राईले विजयी भएका छन् । राई एमालेका माङसेबुङ गाउँकमिटीका अध्यक्ष हुन् भने इदिङ्गो नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हुन् ।
उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङ विजयी भएका छन् । त्यस्तै एमालेकी उम्मेदवार सुनिता सुब्बालाई ६८३ मतान्तरले पराजित गर्दै नेम्वाङ उपाध्यक्ष पदमा विजयी भएका हुन् । गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेम्वाङले ३ हजार ७२९ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेकी सुब्बाले ३ हजार ४६ मत प्राप्त गरिन् ।
सुब्बा निवर्तमान उपाध्यक्ष हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा समेत नेम्बाङ र सुब्बा उपाध्यक्ष पदका प्रतिस्पर्धी थियो । सो निर्वाचनमा एमालेकी सुब्बा विजयी भएकी थिइन् ।
माङसेबुङ गाउँपालिकामा कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्तिको संयुक्त गठबन्धन थियो । वडा नम्बर १ मा भने एमाले र माओवादी केन्द्रको गठबन्धन थियो । १२ हजार ५६८ मतदाता रहेको माङसेबुङमा आठ हजार ३०७ मत खसेको थियो ।