
काठमाडौं । दक्षिणकाली नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले जीत हासिल गरेका छन् । दक्षिणकालीमा कांग्रेसका मोहन बस्नेत विजयी भएका हुन् । बस्नेत विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि दक्षिणकालीको नगर प्रमुख पदमा विजयी भएका थिए ।
उनले ७ हजार २०१ मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका श्रीराम आचार्यले ५ हजार १९२ मत प्राप्त गरेका छन् ।
नगर उपप्रमुखमा पनि कांग्रेसकै वसन्ती डङ्गोल तामाङ विजयी भएकी छन् । उनी पनि यसअघिको निर्वाचनमा उपप्रमुख पदमा विजयी भएकी थिइन् । उपप्रमुख तामाङले ७ हजार ६२३ मत प्राप्न गरकी नगर निर्वाचन कार्यालयले जनाएको छ । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी इन्दिरा न्यौपानेले ४ हजार ८३० मत प्राप्त गरेकी छन् ।
नौ वटा वडा रहेको नगरपालिकाको छ वटा वडामा कांग्रेसले जीत हासिल गरेको छ । कांग्रेसले २, ४, ५, ६, ८ र ९ नं. वडाका वडा अध्यक्ष विजयी गराउन सफल भएको छ । वडा नं १, ३ र ७ मा भने एमालेका वडा अध्यक्ष विजयी भएका छन् । नगरपालिकामा १७ हजार ९१६ मतदाता छन् । वैशाख ३० गतेको निर्वाचनमा १४ हजार ४८८ मत खसेको थियो । यो कुल मतदाताको ८०.८७ प्रतिशत भएको नगर निर्वाचन अधिकृत शर्माले जानकारी दिइन् ।