
दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका सुरेन्द्र थापा र उपाध्यक्षमा नेपाली कांग्रेसका पञ्चमाया गुरुङ विजयी भएकी हुन् । अध्यक्षमा ६३ र उपाध्यक्षमा दुई मतको अन्तर परेको छ ।
अध्यक्षमा निर्वाचित थापाले तीन हजार २२९ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का पूर्णसिं थापाले तीन हजार १६६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा विजयी गुरुङले तीन हजार २७ मत प्राप्त गरेकी छन् । उनकी प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)की करुणा गुरुङले तीन हजार २५ मत प्राप्त गरेकी छन् ।
छ वटा वडामध्ये बन्दीपुरमा नेकपा एमालेले तीन, नेकपा माओवादी केन्द्रले दुई र नेपाली कांग्रेसले एक वडा जितेको छ । एमालेले वडा नं १, ४ र ६, नेकपा माओवादी केन्द्रले २ र ५ तथा कांग्रेसले ३ नं वडा जितेको छ । कूल १५ हजार ६३८ मतदातामध्ये निर्वाचनमा १० हजार २०५ मत खसेको थियो ।