back
CTIZAN AD

बाघको बासस्थान बढेसँगै मानिसहरुको लापरवाहीले गर्दा नै हिंस्रक घटना बढ्न थाल्याे

वि.सं.२०७९ जेठ २५ बुधवार

627 

shares

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघको सङ्ख्या बढेसँगै बाघले मध्यवर्ती क्षेत्रमै बासस्थान बनाउन थालेको छ । बाघको बासस्थान वरपर मानवीय गतिविधि पूर्ववत् अवस्थामा रहँदा हिंस्रक घटना बढ्न थालेका हुन् ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गएको ११ महिनामा १४ जनाको बाघको आक्रमणबाट मृत्यु भएको छ । गत आर्थिक वर्षमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भएको थियो । आक्रमणका घटना अधिकांश मध्यवर्ती सामुदायिक वनमा भएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार तीनवटा घटना मात्रै निकुञ्जभित्र भएका हुन् । वर्षभरमा भएका सबै घटना निकुञ्ज र मध्यवर्ती वन क्षेत्रभित्र मात्रै भएका हुन् ।

वनमा न्युरो, घाँस, दाउरा गर्न जानेहरु आक्रमणको सिकार बनेका छन् । निकुञ्जमा हालै गएको फागुनमा बाघ गणना गरिएको थियो । बाघको तथ्याङ्क सार्वजनिक भइसकेको छैन । आउँदो बाघ दिवस जुलाई २९ मा सङ्ख्या सार्वजनिक गरिँदै छ । सन् २०१८ को गणनाअनुसार निकुञ्जमा बाघको सङ्ख्या ९३ रहेको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य सङ्ख्या बढेका कारण मध्यवर्ती क्षेत्रमा बाघले बासस्थान बनाएकाले घटना बढेको अनुमान गरेका छन् । मानिसहरुले अपनाउनुपर्ने सावधानी कम अपनाउँदा घटना बढ्दै गएको आचार्यको भनाइ छ ।

बाघ निश्चित क्षेत्रलाई आफ्नो बासस्थान बनाएर बस्ने प्राणी हो । सङ्ख्या बढ्दै गएर निकुञ्जभित्र बासस्थान नपुगेपछि बाघले मध्यवर्ती सामुदायिक वनहरुमा आफ्नो बासस्थान बनाउँदै गएको उनी बताउछन् । बाघका सम्बन्धमा विद्यावारिधि गरेका राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछाने बाघले बुढो भएर, घाइते भएर, हेपिएर आहारा नपाउँदा, मानिसलाई आक्रमण गर्ने बताउछन् । बच्चा हुर्काउँदै गरेको बाघले पनि आक्रमण गर्ने सम्भावना बढी हुन्छ ।

लामिछानेको भनाइमा बाघको सङ्ख्या बढेपछि निकुञ्जको भित्री भागसँगै मध्यवर्ती र वरपरका जङ्गल क्षेत्रमा पनि बाघले बासस्थान बनाउन थालेको छ । ती क्षेत्रहरुमा पूर्ववत् अवस्थामा स्थानीयहरु घाँस दाउरा गर्न जाँदा घटना हुने गरेको उनको भनाइ छ । उनले भने, “यो हाम्रै ठाउँ त हो नि भनेर ढुक्क भएर सावधानी कम अपनाउँदा घटना बढेका हुन् ।” उर्वर ठाउँहरुमा घाँस निहुरो जस्ता वस्तु प्रशस्त पाइने र तिनै ठाउँमा बाघको आहारा प्रजाति बढी पाइने हुँदा जम्काभेट भएर घटना हुने गरेको लामिछानेको भनाइ छ । कतिपय अवस्थामा मान्छेले निहुरिएर काम गर्दा आहारा प्रजाति सम्झेर झुक्किएर पनि बाघले आक्रमण गर्ने गरेको उनी बताउछन् ।

पहिले खुल्ला ठाउँ हुँदा जुन ढङ्गले मध्यवर्ती वनको उपभोग स्थानीयवासीले गरेका थिए, अहिले झाडी हुँदा पनि त्यही ढङ्गबाट काम गर्दा जोखिम बढेका छन् । मानिसमाथि आक्रमण अधिकांश वनभित्र भएका छन् । बस्तीमा बाघ आउँनासाथ नियन्त्रणमा लिने गरिएको छ । चालु आर्थिक वर्षमा चारवटा बाघलाई नियन्त्रणमा लिइएको थियो । तीमध्ये दुईवटा मरेका छन् भने दुईवटा कसरामा राखिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम अधिकृत बाघ विज्ञ डा चिरञ्जीवीप्रसाद पोखरेल बाघको सङ्ख्या बढेका कारण घटनाहरु थपिएको बताउछन् । पूर्ववत् अवस्थामा भन्दा फरक ढङ्गले सावधानी अपनाएर काम गरेमा बाघबाट बच्न सकिने उनको भनाइ छ । सङ्ख्या बढेसँगै बाघका बासस्थान फैलिँदै गएका छन् । जङ्गलभित्र जानुअघि वन्यजन्तुबाट बच्नका लागि अपनाउनुपर्ने विधिका बारेमा ज्ञान राख्नुपर्ने उनी बताउछन् ।

सङ्ख्या बढेकाले मानिसहरुसँग जम्का भेट हुने र घटना बढेको छ । वन क्षेत्रमा आहारा प्रजाति पुगेकै कारण बाघ बस्तीमा पसेका घटना कम भएको पोखरेलको अनुमान छ । बाटोहरु निर्माण गर्दा वन्यजन्तुमैत्री बनाउन सकेमा यस्ता घटना कम हुने उनी बताउछन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेल बाघको सङ्ख्या बढेकै कारण आक्रमणका घटना थपिएको बताउछन् । बाघ छ भन्ने थाहा पाएर पनि सावधानी विना मानिस जङ्गल जाँदा अकालमै ज्यान गुमाउनु परेको उनको भनाइ छ ।

सामुदायिक वनहरुमा समूहमा प्रवेश गर्ने, हात्ती वा हेरालुको आवश्यकताअनुसार सहयोग लिने गर्न सकेमा घटना कम हुने उनले बताएका छन् । चोरीको नियत साथ सुटुक्क वन पस्नेहरु बढी जोखिममा रहेको कँडेलको भनाइ छ ।

 

वि.सं.२०७९ जेठ २५ बुधवार १२:११ मा प्रकाशित

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...