
काठमाडौं । सरकारले गरेको पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा राप्रपाले भातृ संगठनलाई आन्दोलनमा उतार्ने भएको छ । पार्टीका उपाध्यक्ष एवम् आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
राप्रपाले किसानको समस्यामा केन्द्रित भई असार १३ गते ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा धर्ना तथा कोणसभा गर्ने भएको छ । यसैगरी राप्रपाले २२ सुत्रिय माग राखी प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रका विषय सम्बोधन हुनुपर्ने माग राखी असार १७ गते ७७ वटै जिल्लाका सदरमुकाममा राँके जुलुस गर्ने निर्णय गरेको छ । साथै, पार्टीले असार १९ गते पार्टीसँग आवद्ध ट्रेड युनियनको नेतृत्वमा श्रमिकको उचित ज्याला निर्धारण र श्रमिकको जीवन बीमालगायतका मागसहित श्रम मन्त्रीलाई ज्ञापनपत्र पेश गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, राप्रपाले असार २४ गते भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र कोणसभा गर्ने निर्णय गरेको छ । साथै, असार २७ गते राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको नेतृत्वमा जनक शिक्षा सामग्री केन्द्र र कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क हुने व्यवस्थालाई कार्यान्वयन गर्न उच्च माध्यमिक शिक्षा परिषद्मा ज्ञापनपत्र र धर्ना दिने निर्णय गरेको छ ।
यसैगरी, राप्रपाले असार ३१ गते राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको नेतृत्वमा महिला हिंसा विरुद्ध राष्ट्रिय महिला आयोगमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ ।