काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा केन्द्रीय पदाधिकारीहरुको टुंगो यहि बैठकले लगाउनुपर्ने माग गरिएको छ ।
आजबाट सुरु केन्द्रीय समितिको बैठकमा प्रदेश इन्चार्ज तथा अध्यक्षहरुले बैठक लम्ब्याएरै भएपनि केन्द्रीय पदाधिकारीहरुको टुंगो लगाउनु पर्ने माग गरेका हुन् ।
बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले प्रदेशको रिर्पोटिङ गर्ने क्रममा पार्टीलाई भद्रगोल तरिकाले राख्न नहुने भन्दै बैठक लम्ब्याएरै पनि पदाधिकारीको टुंगो लगाउनुपर्ने बताए ।
‘यो केन्द्रीय समिति बैठकबाट पदाधिकारी र अरु संरचना टुंग्याउनु पर्छ । बरु पाँच दिनसम्म बैठक बसौं । यो भद्रगोल अवस्था नराखौं ।’ उनले भने ।
सोहि बैठकमा मधेश प्रदेश इन्चार्ज गणेश साहले पनि मधेश प्रदेशका पदाधिकारीहरुको टुंगो लगाउनुपर्ने माग राखेका थिए । उनले पार्टीले मधेशका ऐजेण्डाबारे छलफल नगरेको भन्दै पार्टीमा नेतृत्व बिहिनता अन्त्य हुनुपर्ने माग राखेका थिए । उनले मधेशमा पार्टी कमजोर भएको विषयमा समेत निमर्म समिक्षा गर्नुपर्ने बताए ।
साहले पार्टीले मधेशको आर्थिक तथा राजनीतिक मुद्दाका विषयमा छलफल नै नगरेको गुनासो गर्दै भने–‘यसबारे निमर्म समिक्षा हुनुपर्छ । चुनावमा मात्र मधेशमा समस्या आउने हैन ।’
यसअघि पाटी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको बैठकका ९ ऐजेण्डामा पदाधिकारीको टुंगोको विषय परेको छैन ।
वि.सं.२०७९ असार १९ आइतवार १३:५६ मा प्रकाशित




























