काठमाडौं । नेकपा एमालेको आज बसेको सचिवालयको बैठकले स्थानीयतह निर्वाचनमा एमालेले अपेक्षित नतिजा नल्याएपनि पहिलो राजनीतिक शक्तिका रुपमा स्थापित भएको निष्कर्ष निकालेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयक बैठकले निर्वाचनमा पार्टीभित्रैबाट अन्तरघात र अराजकताका घटनाहरु घटेको भन्दै त्यसको छानविन र कारबाहीका लागि उपाध्यक्ष विष्णु् पौडेलको संयोजकत्वमा समिति समेत गठन गरेको छ ।
पार्टीका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले अनुशासनहीनता, अराजकता र अन्तरघात तथा पार्टीभित्रका आन्तरिक समस्याका कारण पार्टीले सोचे बमोजिम नतिजा ल्याउन नसकेको बताए । ‘त्यो सबैलाई सच्याएर आगामी निर्वाचनमा दुरुस्त रूपमा प्रस्तुत हुने पार्टीले निर्णय गरेको छ,’ प्रवक्ता गुरुङले भने ।
गुरुङका अनुृसार बैठकले असार मसान्तसम्म निर्वाचनको समिक्षा गरिसक्ने निर्णय गर्दै जिल्ला कमिटी र प्रदेश कमिटीलाई रिपोर्ट तयार गरेर हेडक्वाटरमा पठाउन निर्देशन दिइएको बताए ।
प्रवक्ता गुरुङले सत्तारुढ गठबन्धन आगामी निर्वाचनसम्म कायम नहुने समेत बताए । उनले सत्तागठबन्धनभित्रको दल जनता समाजवादी पार्टी विभाजनको संघारमा पुगिसकेको हुनाले उसले कुन दलसँग तालमेल गर्छ भन्ने अहिले टुंगो नलागिसकेको बताए ।
गुरुङले भने–‘गठबन्धनमा रहेका दलहरुमा एक अर्कापति अविश्वास छ, कांग्रेसले माओवादीलाई अपमानित ग¥यो भन्ने छ । पार्टीभित्र फरक मत र गुटहरु देखापरेको छ यो चिज हेरौं न कसरी जााँदो रहेछ ।’
वि.सं.२०७९ असार १९ आइतवार १८:०४ मा प्रकाशित






























