काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशका धेरैजसो राजनीतिक पार्टीभित्र समस्या रहेका बेला गठबन्धनमा समस्या देखिनु ठूलो कुरा नभएको बताएका छन् ।
मंगलबार नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण गर्दै प्रधाामन्त्री देउवाले पाँच दल मिलेर बनेको गठबन्धनभित्र देखिएका समस्यालाई सामान्य रुपमा लिनुपर्ने बताएका हुन् ।
कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले गठबन्धनभित्र समस्याहरु देखिएको बताएपछि कांग्रेस सभापति समेत रहेका देउवाले भने –एउटै पार्टीमा त समस्या हुन्छ भने गठबन्धनमा त समस्या हुन्छ नि । यो ठूलो कुरा होइन । समान्य रुपमा लिनुपर्छ ।’
पछिल्लो समय शेखर कोइराला समूहले देउवा कांग्रेसको सभापति नभइ गठबन्धनको सभापति भएको भन्ने आरोप लगाइरहेका बेला कोइरालाको आरोपप्रति इगिंत गर्दै देउवाले भने– ‘आफ्नो पार्टी मिलाउनुपर्नेमा गठबन्धन मिलाउनुपर्ने अवस्था छ । पछि प्रधानमन्त्री भएपछि थाहा पाउनुहुनेछ । साथीहरुले यसलाई बुझ्नुपर्छ भन्ने मलाई लाग्छ ।’
वि.सं.२०७९ असार २१ मंगलवार १३:०० मा प्रकाशित






























