काठमाडौं । आफुमाथि छानबिन समिति गठन भएसँगै जनार्दन शर्मा अर्थमन्त्रीको जिम्मेवारीबाट बाहिरिएका छन् । बुधबार आफुमाथि छानबिन गर्न संसदले छानबिन समिति गठन गरेसँगै शर्माले पदबाट राजीनामा दिएका थिए । शर्माले राजीनामा दिएसँगै अर्थमन्त्रालय नेतृत्व बिहीन भएको छ ।
माओवादी केन्द्रको तर्फबाट अर्थमन्त्री बनेका शर्मा बाहिरिएसँगै अब माओवादीले कसलाई अर्थको जिम्मेवारी देला भन्ने जिज्ञासा देखिन्छ । तर, माओवादीले छानबिन समितिले छानबिन नसक्दासम्म अर्थमन्त्रालयमा अर्को पात्र नपठाउने भएको छ ।
बुधबार शर्माले पदबाट राजीनामा दिएलगत्तै सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थमा तत्काल माओवादीले अर्को पात्र नपठाउने स्पष्ट पारेका हुन् । उनले छानबिन नसकिएसम्म माओवादीले अरुलाई अर्थमन्त्री नबनाउने बताए ।
“पार्टीले उहाँलाई राजीनामा दिन सुझाव दिएको थियो, अनिवार्य भनेको थिएन”, पुनले भनेका छन्, “उहाँले राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गर्नुभयो, छानबिन नसकिएसम्म पार्टीले अरूलाई अर्थमन्त्री बनाउँदैन ।”
पुनले शर्माले पुनः अर्थमन्त्री बन्नसक्ने पनि संकेत गरेका छन् । रामशरण महत छानबिन पछि पुनः मन्त्रीको जिम्मेवारीमा फर्किएको स्मरण गर्दै उनले भने, “भरतमोहन अधिकारी र विष्णु पौडेल अर्थमन्त्री हुँदा पनि छानबिन समिति बनेका थिए तर उहाँहरूले राजीनामा दिनुभएन तर, राममशरण महतले भने छानबिन समिति बनेपछि राजीनामा दिनुभएको रैछ। निर्दोष प्रमाणित भएपछि उहाँ फेरि फर्किनुभयो।”
वि.सं.२०७९ असार २२ बुधवार १७:३० मा प्रकाशित






























