काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) औपचारिकरूपमै विभाजन नजिक पुगेका छन् । अलग–अलग हुने सहमति भएको चर्चाकै बीच अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बेग्ला–बेग्लै केन्द्रीय समितिको बैठक बोलाएका छन् ।
अध्यक्ष यादवले वीरगञ्जमा असार २९ र ३० गते केन्द्रीय समितिको बैठक बोलाएका छन् भने भट्टराईले काठमाडौंमा असार २८ र २९ मा केन्द्रीय समितिको बैठक बोलाएका छन् । बताइएअनुसार औपचारिक रुपमै अलग हुने योजनाअनुसार दुवैले बेग्ला–बेग्लै बैठक बोलाएका हुन् ।
भट्टराईले अलग हुने दिशातिर जानसक्ने कुराको संकेत सामाजिक सञ्जालबाटै गरिसकेका छन् । उनले वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्ने दिशामा अघि बढ्ने साहस गर्न आव्हान पनि गरेका छन् ।
जसपाभित्र विवाद देखिन थालेकै बेला बाबुराम पत्नीसमेत रहेका नेतृ हिँसिया यामीको पहलमा ०७८ फागुन ५ मा निर्वाचन आयोगमा समावेशी लोकतन्त्र पार्टी दर्ता भएको थियो । दीपक लामिछानेको अध्यक्षतामा दर्ता भएको पार्टीलाई सक्रिय बनाउने तयारी भट्टराईको रहेको बुझिएको छ ।
भट्टराईनिकट एक नेताले बताएअनुसार जसपाभित्रका आफुँ र अशोक राई खेमाका नेताहरुसँगै केही वाम साना पार्टीहरुलाई जोड्ने तयारीमा भट्टराई छन् । बताइएअनुसार काठमाडौं भेलाले उक्त विषयमा निर्णय गर्नेछ ।
यादव पक्षले भने जसपाबाट छुट्टिएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकता गर्ने तयारी गरिरहेका छन् । उनले लोसपाका नेताहरुसँग बारम्बार भेटवार्ता पनि गरिरहेका छन् । यादव निकट एक नेताले बताएअनुसार बैठकले पार्टी एकता गर्ने विषयमा ठोस प्रस्ताव बनाउन सक्नेछ ।
वि.सं.२०७९ असार २६ आइतवार १५:२९ मा प्रकाशित






























